लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनको परिणाम आउने क्रम जारी छ । यस समाचार तयार पार्दासम्म प्राप्त मत परिणाम अनुसार नेपालीमूलका लक्ष्यबहादुर गुरुङ, कमल गुरुङ, विष्णुबहादुर गुरुङ, भीम सारु र सुमन पुन निर्वाचित बनेका छन् ।
लण्डन बोरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ काउन्सिलर पदमा पुन निर्वाचित भएका हुन् । एज्वेरबरी वडाबाट कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका उनले १ हजार ६९१ मतसहित निर्वाचित भएका छन् । दुई जना निर्वाचित हुने सो वडाबाट उनीसँगै कञ्जरभेटिभ पार्टीकै अर्का उम्मेदवार पनि विजयी भएका छन् ।
त्यस्तै, बार्नेट काउन्सिलमै पहिलोपटक काउन्सिलरका उम्मेदवार बनेका कमलबहादुर गुरुङ निर्वाचित भएका छन् । ब्रन्टोक वडाबाट उम्मेदवार बनेका उनले २ हजार ३७७ मत पाए । उनी लेबर पार्टीबाट उम्मेदवार थिए । दुई जना निर्वाचित हुने सो वडाबाट लेबर पार्टीकै अर्का उम्मेदवारले जितेका छन् ।
यसैगरी लण्डन बोरो अफ हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भएका छन् । ह्यानवर्थ पार्क वडाबाट उम्मेदवार रहेका उनी १ हजार ३७ मत पाएर निर्वाचित भएका हुन् । उनी लेबर पार्टीबाट उम्मेदवार थिए ।
रसमुर काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको उम्मेदवार रहेकी सुमन पुनले भने जित हासिल गर्न सकिनन् । कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेकी उनले ७३० पाइन् भने लेबर पार्टीका उम्मेदवार क्लाइभ प्याट्रिक ग्राटनले १ हजार ८ मतसहित जित हासिल गरे ।
यसैगरी बेडवर्थ र ननिटन काउन्सिलमा बारपुल वडाबाट उम्मेदवार बनेका भीम सारु पनि जित हासिल गर्न चुकेका छन् । लेबर पार्टीबाट उम्मेदवार रहेका उनले ५६६ मत पाए भने कन्जरभेटिभ पार्टीका उम्मेदवार जेमी मारिक हार्टसन ६५२ मत पाएर निर्वाचित भए ।
नेपाली मूलका उम्मेदवार रहेका अन्य काउन्सिलको परिणाम आउनेक्रम जारी छ ।