माहे आइल्याण्ड सेसेल्स । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पहिलोपटक गणतन्त्र सेसेल्सको मन्त्री स्तरिय भ्रमण गरेका छन् । यहि मार्च १८ तारिखदेखि २० तारिखसम्मको तीनदिने भ्रमणका क्रममा नेपाल र सेसेल्सबिचको दुइपक्षीय सम्बन्ध, श्रम सम्झौता र नेपाली श्रमिकहरुको हक हितका सम्बन्धमा यहाँका सरोकारवाला निकाय र सम्बन्धित मन्त्रालयका मन्त्रीसँग व्यापक छलफल भएको बताएका छन् ।
भ्रमणको अन्तिम दिन गैर–आवासिय नेपाली संघ सेसेल्सले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर अर्थतन्त्र धान्ने नेपालीहरुको हक, हित र सुरक्षाको लागि सरकार प्रतिवद्ध रहेको धारणा राखे । उनले अगाडी भने– अब यहाँ कार्यरत नेपालीहरुको लागि पनि स्थानिय सो–सरह तलब–सुबिधा र सेवाको लागि पहल गर्ने, श्रम सम्झौताको लागि प्रयास गर्ने र सेसेल्समा अन्य पनि थुप्रै क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्नको लागि आवश्यक प्रक्रिया अगाडी बढाउने वचनबद्धता जाहेर गरे । अबैधानिक तवरले अनावश्यक र अत्याधिक रकम असुलेर नेपालीलाई नेपालीले ठगी गर्ने गरेको दुखद समाचार सुन्नमा आएकोमा मन्त्रीले खेद प्रकट गर्दै आइन्दा त्यस्तो हुन नदिने आश्वाशन पनि दिए । उनले जोड दिए– अबदेखि कुनै पनि समस्या भए एनआरएनए मार्फत आधिकारिक रुपमा गुनासो लिएर आए श्रम मन्त्रालय सक्दो सहयोग गर्न सदैव तयार छ । नेपाल र सेसेल्स दुई देशबीच पहिलोपटक भएको यो मन्त्री स्तरिय भ्रमण एनआरएनए सेसेल्सको निरन्तर प्रयास र पहलकदमीले सम्भव भएको जनाइएको छ ।
भ्रमण दलमा रहेका श्रम सचिव एकनारायण अर्याल, सह–सचिव राजिव पोख्रेल, उप–सचिव डा.थानेश्वर भुसाल र नेपालका लागि सेसेल्सका अवैतनिक वाणिज्यदूत नरेश दासको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । मन्तव्यका क्रममा बोल्दै सचिव अर्याल र वाणिज्यदूत दासले पनि सेसेल्समा रहेका नेपालीहरुको हक, हित र समस्या समाधानका विषयमा सक्दो सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए ।
सेसेल्सको माहे आइल्याण्डस्थित रोचे प्रशासनिक भवनको सभा–हलमा सम्पन्न उक्त कार्यक्रम स्थानिय समय अनुसार अपरान्ह २ देखि ४ः३० सम्म उल्लेख्य नेपालीहरुको उपस्थितिमा भएको थियो । एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन साहित्यकार तथा संस्थाका सल्लाहकार गणेश खड्काले गरेका थिए । कार्यक्रममा एनआरएनए सेसेल्स महिला उपाध्यक्ष खेसेना लिम्बुले स्वागत मन्तव्य दिएकी थिइन् भने संस्थापक अध्यक्ष आरपी पन्तले संस्थाको स्थापना र उपादेयतामाथि प्रकाश पारेका थिए ।
आनआरएनएले उठाएका समस्याहरु
१) खाइपाई आएको तलब सुबिधा घटेको विषय,
२) एउटै कम्पनीका एकै प्रकृतिको काममा पनि असमान तलब,
३) सेसेल्स सरकारले कामदारबाट मासिक रुपमा लिने आय कर,
४) अबैधानिक रुपमा नेपालीले नेपालीलाई नै अधिकतम पैसा असुलेर ठगी गर्ने… आदि ।
कार्यक्रम अवधिमा साहित्यकार गणेश खड्काले कविता सुनाउँदा उपस्थित सबैमा एकाग्रता छाएको थियो । कार्यक्रमको अर्को आकर्षण अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशको च्याप्टर अध्यक्ष समेत रहेका खड्काकै शब्द रचना, राजनराज शिवाकोटीको सङ्गीत तथा स्वरुपराज आचार्य अनि रचना रिमालको स्वरमा सजिएको घरदेश र परदेशको कथा समेटिएको गीतको अडियो मन्त्री श्रेष्ठले सार्वजनिक गरेका थिए ।
सेसेल्समा रहेका सिर्जनिशील नेपालीहरुको सामुहिक लगानी र प्रयासमा निर्मित उक्त गीतको म्युजिक भिडियो पनि चाँडै बजारमा आउने निर्माण पक्षले बतायो। कार्यक्रमको समापनमा अतिथिहरुलाई मायाँको चिनो स्वरुप संसारकै दुर्लभ तथा अद्भुत मानिने बनस्पति बिज “को–को डे मेर” को मुर्ति आयोजक एनआरएनए सेसेल्सको तर्फबाट समर्पण गरिएको थियो ।
पूर्वी अफ्रिकाको सुन्दर पर्यटकीय देश सेसेल्समा लगभग पन्ध्र सय नेपालीहरु कार्यरत रहेको अनुमानित आँकडा छ ।