April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु

2.7K

काठमाडौं । एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु भएको छ । पूर्व परराष्ट्र मन्त्री डा प्रकाशशरण महतको प्रमुख आतिथ्यता रहेको सो भेलामा दुई तिहाई बढी अध्यक्षहरुको उपस्थितिमा रहेको छ ।

आइतबार भर्चुअल माध्यमबाट आयोजना गरिएको गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व परराष्ट्र मंत्री महतले एनआरएनएले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात गर्न आग्रह गरे । “विधि र पद्धति अनुसार एनआरएनए चलोस भन्ने हाम्रो मूल उद्देश्य हो,” उनले भने ।

यसपटक दशैंको बेला एनआरएन मित्रहरुलाई काठमाडौँमा भेट्न नपाउंदा खल्लो लागेको उनले बताए । “विगतमा तपाईहरु दशैंको अवसरमा सम्मेलन गर्न यहाँ आउनुहुन्थ्यो । कोभिडका कारण अहिले २ वर्षदेखि तपाईहरुको अभाव हामीले महशुस गरेका छौं । सदस्यताका कारण समयमा अधिवेशन गर्नका लागि अफ्ठ्याराहरू आएको कुराहरू पनि हामीलाई थाहा छ । अब त्यो अफ्ठ्यारो फुकाएर समयमै अधिवेशन गराएर समस्याका समाधान गर्नुपर्छ । हाम्रो डेमोक्रेटिक स्पिरिट अनुसार, एनआरएनएको विधि र प्रक्रिया अनुसार समस्या समाधान गरेर चाँडो भन्दा चाँडो टुंगोमा पुग्नुपर्छ । अहिलेको अन्तर्राष्ट्रिय कमिटिले पनि समस्याहरु टुंगोमा पुराउनु पर्छ । हिजो देखिएको समस्याहरु समाधान गरेर अघि बढ्न सकोस् यही शुभकामना दिन चाहन्छु ।’, उनले भने ।

Advertisement

उनले नेपाल र नेपालका सम्पूर्ण राजनीतिक दलहरुका लागि पनि एनआरएनए उदाहरणीय संस्था बन्नुपर्ने बताए ।

‘६ महिना समय थप गर्ने कुरा विधानमा छैन’

संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलो पटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुख लागेको बताए । उनले अन्तरराष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफै ६ महिना थप गर्ने प्रावधान गैर आवासीय नेपाली संघको विधानमा नरहेको स्पष्ट पारे । उनले संघमा आफैले बनाएको विधान र नेपाल सरकारको कानून पालना नगर्दा अहिलेको समस्या आएको पनि बताए। ‘संरक्षक परिषद्ले हामीलाई जिम्मा दिए १ महिना भित्र समाधान गर्न सक्छौं भनेका थियौ तर गरेको निर्णय पनि लागू भएन,’ उनले भने ।

भेलालाई संघका केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, महिला संयोजक भोमा लिम्बू लगायतका वक्ताले एनसीसीहरु संस्थाका पिलर हुन् भन्दै एनसीसीहरुको भेला बाट कोहि पनि डरा उन नहुने बताएका थिए ।

भेलालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्री प्रसाद साह लगायतका वक्ताले शुभकामना दिंदै गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशन र चुनाव निस्पक्ष र पारदर्शी ढंगबाट जति सक्दो चांडो गर्न सुझाव दिएका थिए। संघका चुनाव भएका ६० बढी राष्ट्रिय समन्वय परिषद्हरु मध्ये ४३ जना अध्यक्षहरु भेलामा सहभागी छन् ।