काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रका क्षेत्रीय संयोजक प्रवीण गुरुङले आसन्न निर्वाचनका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
२०१९–२०२१ मध्यपूर्व संयोजकका रुपमा उनी निर्विरोध निर्वाचित भएका गुरुङ एनआरएनएको इतिहासमै निर्विरोध निर्वाचित हुने पहिलो क्षेत्रीय संयोजक हुन् ।
‘मैले गैरआवासीय नेपालीको हकहितमा के कति काम गरे भन्ने कुरा पुरै संसारलाई नै जगजाहेर छ । सायद यो प्रविधिको राम्रो पक्ष पनि होला । कुनै जमाना थियो, एक हातले दिएको अर्को हातले थाहा पाउनु हुँदैन भन्ने तर अहिले जमाना बदलिएको छ, गुरुङले भने,‘हामीले गरेका राम्रो कामको खुलेर प्रचार गर्नुपर्छ ताकि अरुलाई पनि उत्प्रेरणा मिलोस् ।
१९९७ मा भारतीय सेनामा भर्ती भई झन्डै आठ वर्ष काम गरेका व्यक्ति गुरुङ २००४ यतादेखि हालसम्म कतारलाई मुख्य कर्म थलो बनाएर विभिन्न व्यवसाय गरिसकेका छन् ।
उनले कतारको दोहामा रहेकोे पाँचतारे होटलमा नेपाली लोक दोहोरी, गजलसहितको रेष्टुरेन्ट समेत सुरुवात गरेका थिए । अहिले अरबी, युरोपियन लगायत फरक–फरक थेमका अन्य इन्टरनेशनल स्तरका रेष्टुरेन्टहरु समेत पाँचतारे होटलहरूमा विस्तार गरिसकेका छन् । यसबाहेक कन्स्ट्रक्सन, हस्पिटालिटी, रियल स्टेट लगायत विभिन्न व्यवसायमा पनि उनी संलग्न छन् ।