February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेद्वारी घोषणा

2.7K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा वर्तमान उपाध्यक्ष रविना थापाले औपचारिक रुपमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छन् ।

थापाले विहिबार काठमाडौंको याक एन्ड यति होटलमा एक पत्रकार सम्मेलन आयोजना गरी एनआरएनए आईसीसीको लागि आगामी अक्टोवर २० तारिखमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा लागि उम्मेदवारी घोषणा गरेकी हुन् । उनले संघको इतिहासकै पहिलो महिला अध्यक्ष बन्ने उद्घोष समेत गरिन् ।

उनले एनआरएनएको केन्द्रीय अध्यक्ष बन्न महिला उम्मेद्वारको रुपमा आफूलो कसरत गरेको भन्दै इतिहास रच्ने अभियानमा साथ दिन आग्रह गरिन् ।

Advertisement

एनआरएनए २००३ मा स्थापना भएकोमा यस २० वर्षमा यसअघि जमुना गुरुङले मात्रै अध्यक्षका लागि कोसिस गरेको बताइन् । उनले भनिन्, ‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो । उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं ।’ ‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहनेछ । अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्’ ।, उनले थपिन् ।

वर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहेकी थापाले नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, नयाँ पुस्ता, नेपालमा लगानी, विदेशबाट मताधिकार लगायतका अजेण्डासहित आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् । नेपाली नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, विदेशमा जन्मिएका नयाँ पुस्ताहरुलाई नेपालसँग जोड्न भैरहेको प्रयास, मातृभूमीको विकासमा लगानी जुटाउने प्रयास, विदेशस्थित नेपालीहरुलाई दिइने मताधिकारको कार्यान्वयन र एनआरएनए नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचनको सुनिश्चितता गर्ने लगायतका एजेन्डाहरु उठाएकी छन् ।