April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

एनआरएनए यूकेको ‘तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन’ को तयारी यस्तो छ

4K

लण्डन । तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन बेलायतमा हुने भएको छ । गैर-आवासीय नेपाली संघ, ग्लोबल हेल्थ कमिटीले आयोजना गर्ने विश्व सम्मेलनको स्थानीय आयोजक भने एनआरएनए एनसीसी यूके बनेको छ ।

सम्मेलन सेप्टेम्बरको १७ देखि १९ सम्म बेलायतको अल्डरसटमा हुँदैछ ।

डा. सन्जीव सापकोटा अध्यक्ष रहेको ग्लोबल हेल्थ कमिटीले बेलायतमा सम्मेलन आयोजनाका लागि डा. सुनिल साहको नेतृत्वमा आयोजक कमिटी गठन गरेको छ भने सम्मेलनको स्थानीय आयोजकका रुपमा एनसीसी यूकेले अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा स्थानीय आयोजक समिति गठन गरेको छ ।
गैर–आवासीय नेपाली संघ अन्तर्गतको विश्व स्वास्थ्य समिति मूल आयोजक रहेपनि स्थानीय रुपमा एनसीसी यूकेले सम्मेलनको आयोजना र व्यवस्थापन गर्ने भएको छ ।

Advertisement

विश्वव्यापी कोभिड महामारी र महामारीपछिको अवस्थाका बारेमा सम्मेलनमा गम्भीर छलफल हुने जनाइएको छ ।

सेप्टेम्बर १७ देखि १९ सम्म चल्ने सम्मेलनको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने छन् । त्यस्तै, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, एनआरएनए अध्यक्ष कुमार पन्त लगायतले पनि सम्मेलनलाई सम्बोधन गर्ने एनसीसी यूकेका प्रवक्ता भरतमणी चोङबाङले नेपाल मामिलालाई जानकारी दिए ।

सम्मेलनमा विश्वका विभिन्न देशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मी गरी करिव तीन सय जनाको सहभागिता रहने अनुमान छ । भर्चुअल र भौतिक उपस्थिति गरी दुवै विधिबाट सञ्चालन गरिने सम्मेलनमा कोभिड महामारी, व्यक्तिगत स्वास्थ्य सुरक्षा, मानसिक स्वास्थ्य तथा कार्यस्थलमा अपनाउनुपर्ने स्वास्थ्य सजगता लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

एनसीसी यूकेको हालै सम्पन्न अधिवेशनबाट नयाँ कार्य समिति चयन भएपछि बेलायतमा हुन लागेको यो सबैभन्दा ठूलो कार्यक्रम हो ।