कतारले आप्रवासी श्रमिकलाई श्रम कानुन सम्वन्धि जानकारी ह्वाट्स्एपबाट नै प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।
कतारमा कार्यरत रहँदा श्रमिकको अधिकार, कतार भिसा सेन्टरबारे जानकारी तथा अन्य धेरैजसो सोधिने प्रश्नहरुको उत्तर लगायतका सेवा सहित सुरु गरिएको ह्वाट्सएप मार्फत दिइने जानकारी निःशुल्क रहेको र सो मार्फत विश्वासिलो, आधिकारिक सुचना प्राप्त गर्न सकिने जनाइएको छ ।
प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सुचना प्रदायक निकायले यस्तो व्यवस्था गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिइएको छ । सेवा लिनका लागि ह्वाट्सएपमा +९७४ ६००६ ०६०१ नम्वर मार्फत लिन सकिने जनाएको छ । सो नम्वरलाई जोडेपछि कुन भाषामा आफूले जानकारी चाहेको हो सो नम्वर टाइप गर्नु पर्ने व्यवस्था गरेको छ ।
२४ घण्टे सुचना सेवा स्वचालित च्याट प्रणाली मार्फत लागु हुने र उक्त सेवा नेपाली, अरवी, अंग्रजी, उर्दू, हिन्दी तथा मलायलम भाषामा उपलव्ध हुने जनाइएको छ ।
नेपाली भाषामा सुचना, जानकारी चाहिएमा ५ नम्वर लेखेर पठाउन सकिन्छ । त्यसपछि आफ्नो अधिकारका बारेमा थाहा पाउने, कतार भिसा केन्द्र मार्फत आवेदन दिनुहोस्, उजुरीहरु, आवेदन स्थिति, मुख्य प्रश्न र उत्तर, फोन गर्नको लागि महत्वपूर्ण नम्वरहरु तथा भाषा परिवर्तन गर्नको लागि भन्ने सूचि म्यासेजमा आउँछ । म्यासेज बक्समा ६ नम्वर लेखेर पठाएमा प्रशासनिक विकास मन्त्रालय, श्रम तथा सामाजिक मामिला हटलाइन, प्रहरी, आगो र एम्वुलेन्स, जनस्वास्थ्य मन्त्रालय लगायतको जानकारी सहितको म्यासेज प्राप्त हुन्छ । यसैगरी अन्य सेवाहरु लिन सकिने जानकारी दिएको छ ।