काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा र उत्तेजनाको भाषाले देश सम्हाल्न नसकिने बताएका छन् ।
आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सबैलाई मिलाउने सफ्ट भाषा बोल्नेले मात्रै मुलुक चलाउन सक्ने बताएका हुन् ।
सभापति थापाले भने, ‘देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा बोल्नेले सक्दैन । मुलुक चलाउन एक्लै सकिँदैन । टिम चाहिन्छ । संसारभर कोलाहल र हल्ला मच्चाउनेहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन् । उनीहरूले घृणाको भाषा बोलिरहेका हुन्छन् । घृणा र उत्तेजनाले मुलुक चल्दैन, मिलाउनुपर्छ ।’
उनले निर्वाचनमा सोमबारसम्म प्रचारप्रसार गर्दा उत्तेजना र घोचपेचको भाषा कसैलाई पनि प्रयोग नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । पार्टीको नीति घोचपेच र उत्तेजनाको भाषा चुनावी प्रचारप्रसारमा नगर्ने रहेको सभापति थापाको भनाइ थियो ।
‘मैले साथीहरूलाई भनेको थिए, फेरि पनि भन्छु, चुनाव प्रचार प्रसारका क्रममा उत्तेजनाको भाषा प्रयोग नगरौँ, घोचपेच नगरौँ,’ थापाले भने, ‘प्रचारप्रसारका क्रममा आफ्ना एजेन्डा प्रस्तुत गर्ने हो, सिद्धान्त प्रस्तुत गर्ने हो । योजना प्रस्तुत गर्ने हो । हामीले निर्वाचनमा प्रतिज्ञापत्र ल्याएका छौँ । त्यसैलाई बुझाउने प्रयास गर्नुस् ।’
आफूले योजना र एजेन्डाबारे प्रधानमन्त्रीका उम्मेदवारबिच बहस होला, बहसमा प्रतिस्पर्धा होला भन्ने सोचेको भए पनि त्यो हुन नसकेको बताए ।