November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

लेखजंग थापालाई उपनिर्वाचनको उम्मेदवार नबनाउन रास्वपालाई महिला सुरक्षा दबाब समूहको ध्यानाकर्षण

790

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएकोप्रति महिला सुरक्षा दबाब समूहले ध्यानाकर्षण गराएको छ ।

कानुनी रूपमा पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै सार्वजनिक रूपमै कानुनी र नैतिक प्रश्न उब्जिएकाले त्यस्तो व्यक्तिलाई उम्मेदवार बनाउनु महिला अधिकारप्रति राजनीतिक संवेदनहीनताको ज्वलन्त नमुना भएको समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक विज्ञप्तिमा थापाले पहिली श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको र विवाहको ९ वर्ष पछि कान्छी श्रीमतीले नै आफूलाई मानसिक यातना दिने, खान लाउन नदिने र घरबाट निकाला गरेको आरोप लगाउँदै थापाविरुद्ध २०७९ पुस २० मा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि २०७९ माघ १५ मा मिलापत्र मार्फत सम्बन्ध विच्छेद गरेको देखिएको उल्लेख छ।

Advertisement

समूहका अध्यक्ष इरादा गौतमले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा डा. थापाले श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको प्रमाण पनि आफूमाथि लागेको आरोप लागेपछि विवाद साम्य पार्नका लागि पार्टीमा पछि मात्रै सार्वजनिक गरेको उल्लेख छ।

‘यति गम्भीर विवाद हुँदा हुँदै पार्टीले उहाँलाई उम्मेदवार बनाउनु महिला अधिकारप्रति राजनीतिक संवेदनहीनताको ज्वलन्त नमुना हो। यो घटनाले महिला अधिकार सामाजिक मर्यादा र सार्वजनिक पद धारण गर्ने व्यक्तिको नैतिकतामा प्रश्न उठेको हुँदा कुनै पनि राजनीतिक दलले घटनाको ढाकछोप गर्नु महिला माथिको दोहोरो हिंसा हुन जान्छ,’ विज्ञप्तिमा लेखिएको छ।