काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही ३, उपनिर्वाचनको उम्मेदवार डा. लेखजंग थापालाई बनाएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
उपनिर्वाचनका उम्मेदवारका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी गरी ९ जना आकांक्षी थिए ।
आकांक्षीहरूमध्येबाट अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाको दाबी छ ।
वरिष्ठ न्युरोलोजिस्ट डा. थापाले एमबीबीएस, इन्टरनल मेडिसिनमा डिएम तथा न्युरोलोजीमा एमडी गरेका छन् ।
हाल नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन् ।




