काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी हुने संविधान संशोधन अस्वीकार्य हुने बताएका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभामा अध्यक्ष नेपालले जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानका कारण अहिलेको उपलब्धि हासिल भएको भन्दै जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् ।
मुलुकको राष्ट्रियता, अखण्डता र जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी संविधान संशोधन हुन नसक्ने उनको भनाइ छ ।
उनले संविधानमा संशोधन गर्नुपर्ने भएपनि मध्यरातमा दुई दलले मात्र सम्झौता गर्नुको पछि शंका गर्ने प्रसस्त ठाउँ रहेको बताए । ‘अहिले संविधान संशोधनको चर्चा चलेका छन् । संविधान संशोधन गर्न नसकिने होइन । तर मध्यरातमा दुई दललेमात्र त्यसमा सम्झौता गर्नुपर्ने आवश्यकता थिएन’, अध्यक्ष नेपालले भने, ‘यसबारेमा नियत र उद्देश्यमाथि प्रश्न खडा भएको छ । त्यसबारेमा धेरै कुराहरु आइरहेका छन् । नियतमाथि प्रश्न खडा भएको छ । उद्देश्यमाथि प्रश्न खडा भएको छ । म त्यसमा धेरै प्रवेश गर्न चाहन्नँ।’
उनले राष्ट्रियता र लोकतन्त्रको पक्षमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको भन्दै कसैले आफूलाई बेवास्ता गरेमा त्यो स्वीकार्य नहुने बताए ।
उनले संविधान संशोधन प्रस्ताव सजिलै पास हुनसक्ने अवस्था समेत नरहेको भन्दै भने, ‘राष्ट्रिय सभामा हामीलगायत केही पार्टीहरू एकताबद्ध भयौँ भने दुई तिहाइ पुग्नेवाला छैन ।’
उनले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको भन्दै राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरु हातेमालो गर्न तयार रहेको बताए ।
सामाजिक सञ्जामा अबदेखि पार्टीको हित विपरित जथाभावि नवोल्न र नलेख्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताए । पार्टीका नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारेका थिए ।
महाधिवेशनमा पराजय भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरङ्ग नै पैदा गरेको उनको भनाई थियो ।
उनले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको भन्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे ।
नेपालले राजनीतिक अस्थिरताका कारण नभई व्यक्तिवाद र भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको भन्दै बहुमत र दुई तिहाइ मत जनताले दिए पनि स्थिर सरकार बन्न नसकेको उदाहरण दिँदै कुशासन र व्यक्तिवादका कारण समस्या भइरहेको बताए । ‘राजनीतिक अस्थिरता मूल कारक होइन । भ्रष्टाचार, कुशासन र व्यक्तिवाद नै नेपालको राजनीतिको र शासन सञ्चालनको मुलकारण बनेको छ’, अध्यक्ष नेपालले भने, ‘जबसम्म भ्रष्टाचार र व्यक्तिवाद समाप्त हुँदैन तबसम्म कुराले केही हुनेवाला छैन ।’
मुलुकमा राजनीतिक अस्थिरताका कारण अहिलेको व्यवस्थाविरुद्ध अनेकौँ शक्तिहरु लागि परेकाले लोकतान्त्रिक शक्तिबीच समन्वय र एकताको आवश्यकता रहेको बताए ।
कम्युनिष्ट पार्टीमा विकृति विसंगति मौलाउँदै गएकाले त्यसैलाई सुधार्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले भ्रष्टाचार, व्यक्तिवाद, कुशासनको अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले नेताहरूमा देश बनाउने हुटहुटी चाहिने भन्दै त्यो हुटहुटी नभएमा हावादारी योजनाले मात्र केही प्रगति नहुने उनको तर्क थियो । सत्तामा जाने र जिम्मेवारी नलिने प्रवृत्ति राजनीतिक पार्टीका नेता कार्यकर्तामा रहेकोले नेता कार्यकर्ताहरू पैसा कमाउन र भ्रष्टाचार गर्न नभई जनताको सेवामा समर्पित हुनुपर्ने बताए ।
पछिल्लो सयममा पार्टीप्रति आकर्षण बढेको भन्दै महाधिवेशनमा भएको गल्तीलाई स्वीकारेर एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आव्हान र आग्रह गरे ।
‘चुनावमा बाँडिएका चिटका विषयमा उनले भने कमजोरी गर्नेहरूले मम भनौं । त्यसलाई हामी प्रोत्साहन गर्न चाहँदैनौं’, उनले भने ।
अध्यक्ष नेपालले पार्टीका उपमहासचिव मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाभई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताए ।
कार्यक्रममा सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष बाग्मती इञ्चार्ज गंगालाल तुलाधर महासचिव घनश्याम भुसालले आफ्ना धारणा राखेका थिए । पार्टीका वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।