April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सशस्त्र सङ्घर्ष, शान्ति र मेलमिलाप नीतिका संस्थापक बिपी : विश्वप्रकाश शर्मा

710

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिमा सशस्त्र सङ्घर्ष र शान्ति, सहकार्य एवं मेलमिलाप नीतिका संस्थापकका रूपमा बिपी कोइराला स्थापित भएको बताएका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाली लेखक सङ्घ काठमाडौँ शाखाले बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहमा बोल्दै महामन्त्री शर्माले नेपाललाई लोकतान्त्रिक पद्धतिमा हिँडाएर विकसित देश बनाउन खेलेको भूमिकाले कांग्रेसमात्र नभई अन्य विचार राख्नेले पनि बिपीलाई सम्झिने गरेको बताए ।

अहिलेको संसदीय लोकतान्त्रिक पद्धतिकै लागि बिपीले ठूलो त्याग गरेको उल्लेख गर्दै महामन्त्री शर्माले भने, “बिपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । तत्कालीन राजा महेन्द्रले नेपाली सेनाको शक्तिका भरमा बन्दी बनाएपछि राजनीतिक नभई साहित्यिक कृतिको रचना गरी नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्बाह गर्नुभयो । राजनेता बन्न नीति, कर्म र त्याग चाहिन्छ भन्ने उदाहरण बन्न बिपी सफल हुनुभयो । त्यही कारण उहाँलाई नेपाली कांग्रेसमात्र नभई सबैले स्मररण र सम्मान गर्छन्।”

Advertisement

उनले नेपालमा विकासको प्रारम्भिक खाका कोरेका बिपीले सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्ष भएर विश्वमा नेपालको चिनारी बढाएको स्मरण गरे ।

एकअर्को प्रसङ्गमा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीदेखि हालसम्म कोही पनि पाँच वर्षसम्म नटिकेकाले अब सरकारको स्थिरताका लागि संविधान संशोधनलगायत विषयमा बहस गरिनुपर्नेमा जोड दिए ।