काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्न सबैको सहकार्य जरुरी भएकोमा बताएका छन् ।
एमालेले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको हीरक महोत्सवको अवसरमा गोदावरीमा भइरहेको समारोहमा सम्बोधन गर्दै देउवाले भने, “नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु । नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ ।”
उनले संघीय संसद्मा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन समेत आग्रह गरे ।
सभापति देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको ? भन्दै प्रश्न समेत गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दासढुंगा प्रकरणबारे सत्यतथ्य किन बाहिर आएन भनेर प्रश्न गरेका छन्। “मदन भण्डारीजस्तो व्यक्तित्वको बारेमा राम्रै कुरा गर्ने इच्छा थियो। अहिले आएर उहाँहरू (एमाले) ले कांग्रेसलाई गर्नुसम्म गाली गर्नुभयो। मैले जवाफ दिनुपरिहाल्यो। मलाई गाली गर्नेहरूले मदन भण्डारी किन मर्यो किन भन्न सक्दैन? मदन भण्डारी मारेको कुरा खोजबिन हुनुपर्यो, भण्डारीको रहस्मय घटनाको बारे छानबिन गर्न कसले रोकेको छ? कांग्रेसले रोकेको हो, कसले रोकेको छ?”, देउवाको प्रतिप्रश्न थियो ।
दुईपटक राष्ट्रपति हुँदा, पटकपटक प्रधानमन्त्री हुँदा भण्डारीको दुर्घटनाबारे पत्ता लगाउन नसकेको देउवाले बताए। उनले भने, “आफू खोज्न नसक्ने, कांग्रेसलाई गाली गर्ने, मदन भण्डारीको हत्यारा को हो? अहिलेसम्म पत्ता लगाउन सकेको छैन। हुँदाहुँदा उनको चालक पनि मारियो! कसले मार्यो पत्ता लागेको छैन! मदन भण्डारी राम्रो नेता हो, यसमा दुई मत छैन। उहाँको हत्याबारे अहिलेसम्म किन पत्ता लागेन? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला, गर्नुहोस् केही छैन। आफ्नो पनि कुरा भन्नु पर्यो नि!”