काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन जुनसुकै बेला टुट्न सक्ने संकेत गरेका छ्न्।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन सहज ढंगले अघि नबढेको भन्दै कतिन्जेल टिक्छ भन्न नसकिने बताएका हुन्।
नयाँ गठबन्धनमा आफूहले सहज नमानिरहेको उनको भनाई थियो। ‘गठबन्धनमा हामीले सहज मानेका छैनौँ। त्यसैले कतिन्जेल टिक्छ भन्न सकिँदैन। हामी कसैका गाली गलौज सुन्न राजनीतिमा आएका होइनौँ। कसैका दास बन्दैनौँ,’ उनले भने ।
उनले भने, ‘परिस्थिति जटिल छ। छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ। यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन। त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ। मैले दिन सक्दिन। तर, पनि अलिअलि भन्न सक्छु। परिस्थिति सहज छैन। हामी सहज मानिरहेका छैनौँ। सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ।’
उनले आफूहरू कसैको धाकधम्की गालीगलौज सहनका लागि नजन्मेको र दास बन्ने नियतले राजनीतिमा नलागेको भन्दै अपमान नगर्न नेताहरूलाई चेतावनी दिए। उनले भने, ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ। कसैको दास बन्ने हाम्रो नियत होइनौँ।’




