काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिन बाँकी कुनै दल नै नरहेको बताए । बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डबाट धोका खान बाँकी एमाले, कांग्रेसलगायत कुनै दल बाँकी नरहेको बताएका हुन् ।
लेखकले प्रधानमन्त्री प्रचण्डबाट धोका पाएकाहरु एक ठाउँमा उभिनसक्ने संकेत गर्दै भने, ‘म कुन निश्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेन । तर, एकचोटी सोच्नुस् यी जम्मै धोका पाएका एक ठाउँमा उभिए तपाईँका विरुद्ध भने कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला ।’
बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बेन्चमा बसेका छन् ।
एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० र नाउपाका ४ जना सांसद छन् ।




