काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने बेला भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताएका हुन् ।
महामन्त्री थापाले भने, ‘माघ १० गतेसम्म केही उद्घाटन गर्दिन, शिलान्यास गर्दिन, केही बोल्दिन बिहानदेखि बेलुकासम्म काम गर्छु भन्नुभएको छ । हामीलाई बोल्ने मात्रै मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ ।’
थापाले विसं २०६० देखि आन्दोलन सफल होला, संविधान बन्दा देशमा केही होला भनेर पर्खिएका जनता अहिलेसम्म निराश रहेको बताए । ‘त्यसैले हामीले अब कामको परिणाम देखाउनुपर्छ’, थापाले भने, ‘२०८४ को चुनाव हारिएला भन्ने होइन, चुनाव हारे पनि केही हुन्न, तर जनतालाई कामको परिणाम देखाउन कांग्रेसले केही गर्नुपर्छ ।’




