काठमाडौं । श्रीलंकाका विदेशमन्त्री अली आज नेपाल आउँदै छन् । उनी नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुुन् ।
नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौंमा हुँदैछ । बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गर्नेछन् ।
बैठकमा नेपाल–श्रीलंका सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिने बताइएको छ । बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, संस्कृति, रक्षा, जनसम्पर्क तथा कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने जनाएको छ ।
बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने छ । नेपाल बसाईको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् ।