काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीले संसद विघटनको काम वैधानिक होइन भन्ने कुरा स्वीकार गरेको बताएका छन्।
नेता पौडेलले भिडियो सन्देश जारी गर्दै ओली आफैंले संसद् विघटन अवैधानिक भएको स्वीकार गरेको बताएका हुन्। उनले शनिबारको विरोध प्रदर्शनमा उत्रनसमेत आग्रह गरेका छन्।
‘उनी आफैं यो विधानको कुरा होइन भनिरहेका छन्। यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन्। स्वीकार गरेका छन्’, पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘देशलाई राजनीतिक अस्थिरताको भूमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने यो प्रपञ्च भएको हुनाले सारा जनताले डटेर विरोध गर्न सक्यौं भने, आवाज उठाउन सक्यौं भने यो आवाज सर्वोच्च अदालतसम्म पुग्छ।’




