काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कामले गति नलिए आफूहरु गम्भीर समीक्षा गर्न बाध्य हुने बताएका छन् ।
आइतबार प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले भने, ‘अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ । सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुको कामको समीक्षा गर्नेछौँ, आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ ।’
उनले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । सबैजना काममा केन्द्रित हुन आवश्यक रहेको बताउदै महामन्त्री ‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लाग्न उनले सुझाव दिएका छन्।
उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनि विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालमा भूकम्पपछि घर पुनःनिर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्नेगरी योजना बनाऔँ ।’




