काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेकपा (एकीकृत समाजवादी) पार्टीको विचार प्रष्ट भएको बताएका छन् । शनिबार युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरुसँग समृद्ध र प्रष्ट विचार भएको बताएका हुन् ।
उनले भने, ‘कतिपय साथीहरुले पार्टीको नीति विचार प्रष्ट भएन, अन्योल भयो, हामी जनतामाझ के लिएर जाने ? भनेको सुन्दा मलाई अचम्म लाग्छ । हामीसँग समृद्ध र प्रष्ट विचार छ । हाम्रो बाटो पनि प्रष्ट छ । कतै कन्फ्युजन छैन ।’
यस्तै, उनले अब आफूहरु समाजवादको बाटोमा अघि बढ्ने बताए । ‘हामीले ०६२/०६३ को क्रान्तिबाट जनवादी क्रान्तिको लक्ष पुरा गरेका छौं । केही सामन्तवादका अवशेषहरु बाँकी हुन सक्छन्, अब हामी प्रष्ट रुपमा समाजवादको बाटोमा अघि बढ्छौं, कहीँ कन्फ्युजन राख्नुपर्दैन’, मन्त्री ज्वालाले भने । समाजवादतर्फ अघि बढ्नकै लागि आफूहरु कटिबद्ध भएको पनि उनले बताए । उनले थपे, ‘हाम्रो सम्पूर्ण कामको केन्द्रविन्दु अब समाजवादतर्फ अगाडि बड्ने नै हुन्छ । समाजावाद प्राप्तिको लक्षलाई छिटो प्राप्तिका लागि कम्युनिष्ट पार्टी बलियो हुनुपर्छ । कम्युनिष्टहरु टुटफुट भएको अवस्थामा समाजवाद प्राप्त हुँदैन ।’