लन्डन । नेपाली जनप्रगतिशील मंच बेलायतले विश्व मजदुर दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन मंचले आइतबार विभिन्न कार्यक्रमसहित मजदुर दिवस मनाएको हो ।
बेलायतको अल्डरसटस्थित डी लाउन्ज रेष्टुरेन्टमा आयोजित कार्यक्रमलाई विशेष अतिथिहरु प्रदेश नम्बर १ को योजना आयोगका पूर्व उपाध्यक्ष, नेकपा माओवादी केन्द्र प्रदेश १ सचिवालय सदस्य तथा केन्द्रीय अर्थ विभागका सदस्य डा. पूर्ण लक्समा र नेपाली जनप्रगतिशील मंच बेलायतका पूर्व अध्यक्ष वर्तमान सल्लाहकार तथा युरोप समिति सचिव रन खाती क्षेत्री र कार्यक्रमका अध्यक्ष मान गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि डा पूर्ण लक्समले श्रमिक र गरिबलाई हेर्ने पार्टी माओवादी भएको र माओवादीले गर्दा नै अहिलेसम्म भएका परिवर्तन सम्भव भएको बताए । उनले गोर्खा मुद्धाका लागि पहिले र अहिले पनि पार्टीको साथ रहेको भन्दै माओवादीका प्रगतिशील कामलाई सबैले साथ दिन आग्रह गरेका छन् ।
शुभकामना मन्तव्यकै क्रममा विशेष अतिथि रन खाती क्षेत्रीले अहिलेसम्म संगठनको उपलब्धिबारे स्मरण गर्दै प्रवास विशेष बेलायतमा बसेर राजनीति गर्नेको योग्यता र क्षमताको माओवादी पार्टीले गरेको सम्मानका कारण बेलायतका पुर्व इन्चार्ज पूर्ण लक्सम र वासु मिश्रलाई दिइएको जिम्मेवारीले नै पार्टीको पृथकता र उदारता देखाउने कुरा उल्लेख गरे ।
यस्तै, कार्यक्रममा वरिष्ठ लेखक तथा “तेप्लायु” कृतिका लागि स्वः विमल स्मृति पुरस्कार–२०७८ बिजेता नरेश काङ्गमाङ् राईले पहिचानसहितको प्रदेश नामकरणका लागि माओवादी पार्टीको धारणा स्पष्ट हुन पर्ने र गोर्खाबारे आफ्नो भनाई राख्दै विविध वर्गका श्रमिकहरुको लागि शुभकामना व्यक्त गरे ।
यसैगरी, वरिष्ठ समाजसेवी व्यवसायी नेपाली जनप्रगतिशील मंच युकेका सल्लाहकार रिटायर्ड मेजर योगेश राईले पार्टीको सकारात्मक कार्यमा सहयोग गर्दै संगठन बलियो बनाउन आफू लागि परेको बताए । उनले गोर्खाहरुको न्याय हुनु नै श्रमिकको जीत हुने भएको भनेर आयोजित कार्यक्रममा संसार भरका मजदुरहरुलाई शुभकामना मात्रै दिएनन् कार्यक्रम आयोजनामा सहयोग साथै नगद स्पोन्सरसमेत गरेका थिए ।
उक्त अवसरमा वीसहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो ।