काठमाडौं । दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सहकार्य गर्ने भएका छन् । उनीहरुले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा सहकार्यका साथ सहभागी हुने जानकारी गराएका हुन् ।
उनीहरुले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारसमेत घोषणा गरेका छ । चितवन–२ मा कालोमोसो अभियानका संयोजक शम्भु थापा, तनहुँ–१ मा विष्णु पराजुली, बारा– २ मा चन्द्रप्रकाश सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ । उपनिर्वाचनको लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ ।
कार्यक्रममा सहभागी भएका शम्भु थापालाई नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले टिकट दिँदै चुनावचिन्ह लौरौ पनि थमाए । त्यसैगरी राजनीतिको वैकल्पिक शक्ति अब आफूहरु बन्ने प्रसाईंले दाबी गरे ।
प्रसाईँले प्रचण्ड र केपी ओलीले नागरिकहरुलाई धेरै ढाँटेको आरोप लगाए । अब प्रचण्ड, ओली, रवि र राजेन्द्र लिङ्देनबाट देशले निकास नपाउने उनको भनाई छ । केही आशा गरिएका लामिछाने र लिङ्देनपनि ‘उही पोखरीमा गएर हाम फालेको’ उनको आरोप छ ।
हाम्रो नेपाली पार्टी (लौरो अभियान)का अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले सम्पूर्ण राष्ट्रवादी शक्तिहरु यो देशलाई बचाउन एकजुट हुनुपर्ने उनले बताए । रवि लामिछानेले चितवनका सोझा÷साझा र इमानदार नागरिकको मत बोरामा ल्याएर ‘तीन जना बा’ को पाउमा लम्पसार परेको उनको आरोप छ ।
महाअभियान र हाम्रो नेपाली पार्टी (लौरो अभियान) बाट चितवन– २ मा साझा उम्मेदवार बनेका शम्भु थापाले रविले दुरुत्साहन मुद्दामा भिडले बचाएपछि अहिले सर्वोच्च अदालतलाई पनि च्यालेन्ज गरेको आरोप लगाए । उनी ‘आई एम रवि’ भन्ने भावनाले प्रस्तुत भएको उनले बताए ।