काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले दुई तिहाइ बहुमतको सरकार बनाउने जिकिर गरेका छन्। वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
सभापति लामिछानेले आफ्नो पार्टीमा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं क्षमतावान मानिसहरू जोडिन आउने जनाउ दिएको भन्दै पार्टीले बहुमतको सरकार बनाउने दिनको परिकल्पना आफूले गरेको पनि स्पष्ट पारे। उनले वाग्ले र खरेलजस्ता विज्ञहरूले मन्त्री भएर सरकारको नेतृत्व गर्ने र मुलुकमा विचौलिया र घुसखोरहरूको अन्त्य हुने दाबी समेत गरे। सभापति लामिछानेले आफ्नो पार्टीले बहुमत ल्याएपछि राम्रा नीति बन्ने र नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने दिन आउने पनि बताए।
‘आजको यो कार्यक्रम आउँदै गरेको त्यो हजारौं क्षमतावान मानिसहरू जोडिन आँटेको जनाउ घण्टी मात्रै हो। सम्पूर्ण होइन। त्यसकारणले यो जानकारी गर्नका लागि पनि हामी यहाँ उपस्थित भएका हौं। अन्त्यमा पार्टीलाई विश्वास गरेर, यो अभियानलाई विश्वास गरेर आफूले आर्जन गरेको आफ्नो नाम, आफ्नो प्रतिष्ठालाई हामीसँगै जोडिएर अगाडि बढने जुन साहस, हिम्मत र साथ दिनुभयो। म दुवै जना साथीहरूलाई धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु’, लामिछानेले भने, ‘तपाईंहरूको आगमनले एउटा केवल राजनीतिक दलमा तपाईंहरू दुई जना आउनु भएको मात्रै होइन। एउटा हुर्कदै गरेको पुस्तालाई तपाईंहरूले कति भरोसा दिनु भएको छ। यो अध्यारो ठाउँमा, यो अन्धकार भएको ठाउँमा, समाज जहाँ निराशाको एउटा ठूलो बादल छाएको छ। यस्तो निराशाको बादल छाएको ठाउँमा तपाईंहरूले एउटा आशाको किरण बालिदिनुभएको छ। एउटा ज्योति बालिदिनु भएको छ। म त्यो दिनको परिकल्पना गरिरहेको छु–जतिखेर हामीले बहुमतको सरकार, दुई तिहाइको सरकार बनाउनेछौं। जहाँ हाम्रा सांसदहरू, नीति निर्माणमा संसद्भरी रहनेछन्। र, हामीले सञ्चालन गरेको सरकार, हाम्रो नेतृत्वको सरकारमा तपाईंहरूजस्तो विज्ञहरूले मन्त्रालयहरू हाँक्नु हुनेछ। जहाँ विचौलिया, घुसखोरहरूको अन्त्य हुनेछ।’