April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उपेन्द्र यादवलाई हराएर छाड्ने वाचासहित कुशवाहा जनमत पार्टीमा प्रवेश

1.3K

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको उनको भनाई थियो । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको उनको स्पष्टोक्ति छ ।

‘पार्टीभित्र जनतलाई अधिकार र जनवाद दिने कुरा जति भयो, त्यत्तिनै गुट र अन्तरघात भयो । त्यो अन्तरघातकै कारण मैले त्यहाँ चुनाव जित्न सकिनँ,’– उनले भने । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत मधेशी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको उनको भनाई छ । सिके राउतको सम्मानस्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए । जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।

Advertisement

‘सिके राउतजी मधेशको मुक्तिका लागि नयाँ विचारसहित आइसकेपछि सप्तरीका जनताले उहाँलाई सम्मान गर्नुभयो र उपेन्द्र यादव पराजित हुनुभयो । अहिले फेरि बारा–२ मा उपनिर्वाचन हुँदैछ । त्यहाँका जनताको भावनाविपरित सत्ताबिना बाँच्नै नसक्ने उहाँको व्यवहार हामीले देखेका छौं । त्यसको सामनामात्रै होइन, त्यहाँबाट हराएर पठाउनका लागि म जनमत पार्टीमा प्रवेश गरेको छु,’– उनले भने ।