काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्लाकि भन्ने डर रहेको टिप्पणी गरेका छन् । मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताएका हुन् ।
शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फेरी प्रधानमन्त्री हुन पाईदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गरे ।
उनले बालबालिकाहरुलाई डर दिनेगरी शैक्षिक वातावरण बनाउन नहुने बताए । महामन्त्री थापाले भने, ‘अहिले म यसो नेताहरु हेर्छु–पटकपटक प्रधानमन्त्री भईसकेको नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ । पटकपटक चुनाव जितेकालाई अर्को पटक चुनाव नजित्ला कि भन्ने डर छ । अहिले भईरहेको प्रधानमन्त्रीलाई भोली बिहान अर्को मिलेर मलाई हटाई देलान कि भन्ने डर छ । भनेको जुनसुकै क्षेत्रमा तपाई जानु भयो भने, जुनसुकै ठाउँमा पुगेको भएतापनि मान्छेलाई जति छ, त्यो भन्दा बढि पाउने इच्छा भईरहन्छ ।’
यसअघि पनि थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । बिहीबार सामुदायिक रेडियो प्रसारक संघ अकोराबको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई नागरिकलाई नतर्साउन सुझाव दिएका हुन् ।
प्रधानमन्त्रीसमेत सहभागी सो कार्यक्रममा उनले आफूसमेत डराएको बताउँदै नागरिकलाई नतर्साउन भनेका हुन् । म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक–पटक भनेको छु नागरिकलाई नतर्साउनुस्,’ उनले भने ।




