काठमाडौं । १४ बर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि विद्यार्थी उम्मेदवारहरुले आफ्नो तयारीलाई अन्तिम रुप दिएका छन् । त्रिभुवन विश्वविद्यालयका देशभरका क्याम्पसहरुमा चुनावी तयारी लगभग अन्तिम चरणमा छ । विशेषगरी काठमाडौं उपत्यकाभित्रका ठूला क्याम्पसहरुमा चुनावको भिन्न रौनक छ ।
त्रिवि अन्तर्गतका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते निर्वाचन हुँदैछ । २०६५ सालपछि पहिलो पटक निर्वाचन हुन लागेको हो। यसमध्ये केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका उम्मेदवारहरुले आफ्नो चुनावी अभियानमार्फत विद्यार्थीलाई आकर्षणको केन्द्रमा राखेका छन् । अन्य संगठनका उम्मेदवारले पनि महत्वकांक्षी मुद्दा अघि सारेर अभियानलाई प्रभावकारी बनाएका छन् ।
यसअघि पनि विभिन्न समयमा मनकारी काम गरेर विद्यार्थीमाझ लोकप्रियता हासिल गरेका नेविसंघको तर्फबाट सभापतिका उम्मेदवार श्यामराज ओझाले उठाएका मुद्दाहरुले विद्यार्थीको ध्यान खिचेको छ । विश्वविद्यालयको प्राज्ञिक पुनः जागरणको महाअभियानका लागि आफ्नो प्यानललाई मत मागिरहेका ओझाले विगतमा पदवीहिन भएर पनि काम गरेकाले अब पदमै बसेर मुद्दा कार्यान्वयन गर्न सभापतिमा विजयी गराउन आग्रह गरेका छन् ।
उनले भने,‘विश्वविद्यालयको नीतिगत , प्रशासनिक , पाठ्यक्रमगत , संरचनागत तथा भौतिक पुर्वाधारको बिषयमा साथै सिंगो शिक्षा प्रणालीको बिषयमा निरन्तर लड्दै आएको हुँ । मैंले उठाउँदै आएका मुद्दाहरुलाई संस्थागत गर्न स्ववियू सभापतिमा विजयी गराउन अनुरोध गर्दछु ।
कोरोना महामारी र लकडाउनका बेला विद्यार्थीहरुको उपचार, राहत वितरण साथै जनचेतनामा दैनिकी विताएका ओझा क्याम्पसमा विद्यार्थीहरुमाझ प्रिय पनि मानिन्छन् । क्याम्पसको हकमा भने प्रत्येक विभाग वा संकायमा उनले सुक्ष्म अध्ययन गरेर मुद्दा उठाएको दाबी गर्छन । विश्वविद्यालयले आफैले बनाएको ऐन, कानुन कार्यान्वयनका गर्न बाध्य बनाउन स्ववियू निर्वाचन अनिवार्य भएको उनको भनाइ छ ।
हामी नेविसंघको झण्डालाई बाहिर राखेर पनि विश्वविद्यालय सुधारको अभियानमा निरन्तर क्रियाशील छौं । विश्वविद्यालयमा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति गरिनुहुँदैन । भिसी, रेक्टर, रजिष्ट्रार नियुक्ति गर्दा लक्ष्य, उद्देश्य, क्षमता र योजनाका आधारमा गरिनुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्रीलाई पाँच हजार हस्ताक्षर संकलन गरेर ध्यानाकर्षण गराइसकेकाले अब हामी नियुक्तिलाई राजनीतिक पूर्वाग्रहको अन्त्य गर्नेछौं,’ उनले भने ।
टियुका विद्यार्थीका लागि निशुल्क स्वास्थ्य उपचार गर्न कार्ड निर्माण हाम्रो एजेन्डा हो। विश्वविद्यालयले लुकाएर राखेको स्कलरसीप हामीले दिलाइसकेका छौं । यसमा हामी निरन्तर खबरदारी गर्नेछौं । पुस्तकालय सातै दिन खुल्नुपर्ने, इ–लाइब्रेरी स्थापना गर्नुपर्ने, अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको ल्याब निर्माणका लागि दबाब सिर्जना गर्नेलगायतका हाम्रा प्रशस्त मुद्दाहरु छन्, उनले आफ्ना चुनावी मुद्दाका बारेमा प्रष्ट पार्दै भने,‘हाम्रो मुल उद्देश्य भनेको सिंगो विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाको अन्त्य नै हो ।’ नेविसंघले ओझाको नेतृत्वमा सचिबमा राजेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा पद्यमा भुषाललगायतको प्यानल खडा गरेको छ ।




