काठमाडौं । नेकपा एमालेले ५०औँ सुखानी शहीद स्मृति दिवस मनाइरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा २०२९ फागुन २१ गते झापाको सुखानीमा मारिएका शहीदहरुको सम्झनामा पार्टी मुख्यालयमा कार्यक्रमको आयोजना गरेको छ । फागुन २१ गते २०२९ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा लागेका पाँच जना योद्धाहरू झापाको सुखानीमा मारिएको थिए । उक्त दिनलाई सुखानी शहीद स्मृति दिवसका रुपमा मनाइँदै आएको हो ।
पूर्वी नेपालमा २०२८ सालमा नेपाल कम्युनिष्ट पार्टीले झापा जिल्लामा वर्ग शत्रु खतम अभियान सुरु गरेको थियो । २०२८ सालमा झापामा कम्युनिष्टहरुको नेतृत्वमा केही सामन्तहरू काटिएको बताइन्छ । सो आरोपमा कम्युनिष्ट नेताहरू पक्राउ परेका थिए । कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न कम्युनिष्ट नेताहरु पक्राउ गरिएको भए पनि परिणाम उल्टो निस्किएको थियो । पूर्वी नेपालमा कम्युनिष्ट आन्दोलन अझ चर्किएको थियो ।
कम्युनिष्ट आन्दोलनबाट डराएको पञ्चायतले झापाको चन्द्रगढी जेलमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई २०२९ साल फागुन २१ गते राति इलाम जेल सरुवा गर्ने भनेर जेलबाट निकाल्यो । तर उनीहरूलाई इलामा पुर्याइएन, झापाको साबिक खुदुनाबारी गाविसमा पर्ने हालको अर्जुनधारा नगरपालिकाको सुखानी जंगलमा लगेर गोली हानि हत्या गरिएको थियो ।
झापामा स्थापना भएको सुखानी सहिद स्मृति प्रतिष्ठानले विविध कार्यक्रम गरिरहेको छ । प्रतिष्ठान अन्तर्गत हालको अर्जुनधारा नगरपालिकाको वडा नं ९ र ११ को २४ दशमलव ६ हेक्टर जमिनमा सुखानी सहिद स्मृति पार्क निर्माण गरिएको छ । २०५८ सालदेखि निर्माण सुरु गरिएको सो पार्कमा सहिदहरूको प्रतिमा राखिएको छ । त्यस्तै सिमसार क्षेत्रमा ड्याम बाँधेर पोखरी निर्माण गरिएको छ ।
पोखरीलाई दुई खण्डमा विभाजन गरी एउटा खण्डमा बोट चलाइएको छ । त्यसको एक भागमा वाटर फाउण्टेन निर्माण गरिएको छ । पोखरीको अर्को खण्डलाई कछुवा उद्धार तथा प्रजनन् केन्द्रको रूपमा विकास गरिएको छ । कछुवाको विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि सो स्थान अनुसन्धान केन्द्र समेत बनेको पार्क व्यवस्थापन समितिका अध्यक्ष टंक बरालले बताए । गत साल मात्रै सो पार्कमा १ लाख पर्यटक पुगेका बरालले बताए । यस वर्षको ६ महिनालाई हेर्दा २ लाख बढी पर्यटकले पार्कको भ्रमण गर्ने अनुमान गरिएको उनले बताए ।