June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

कांग्रेसबाट गगन थापाले सरकारको नेतृत्व गर्ने !

२०७९ फाल्गुन २१

1.8K

काठमाडौं । नेपाली कांग्रेससहितको नेतृत्वमा बनेको नयाँ सत्ता गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि सरकार विस्तार रणनीति बनाएका छन् ।

एमालेसहितको गठबन्धन गत १२ फागुनमा भत्किएपछि कांग्र्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चासहितका आठ दलीय गठबन्धनले सरकार विस्तार गर्ने तयारी गरेको हो । राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदै छ भने उपराष्ट्रपति निर्वाचन ३ चैतका लागि तोकिएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि सरकार विस्तार हुने बताए । खड्काले शनिबार सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि सरकार विस्तार हुने बताएका हुन् ।

Advertisement

‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ, त्यसपछि उहाँकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन्छ,’ कांग्रेस उपसभापति खड्काले भने ।

गत १० पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको मुख्य समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, नयाँ गठबन्धन बनेसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

अब सरकार विस्तार हुँदा कांग्रेसबाट सरकारको नेतृत्वमा गनकुमार थापालाई पठाउने तयारी भइरहेको छ । थापालाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने’ कांग्रेसभित्र छलफल भइरहेको हो ।

‘कांग्रेसबाट गगनजीलाई नेतृत्व दिएर सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ, पुराना अनुहारभन्दा पनि युवा अनुहारलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ,’ एक कांग्रेस नेताले भने । कांग्रेसले गृह मन्त्रालय नपाउने निश्चितप्राय भएपछि उपसभापति खड्का सरकारमा सहभागी हुन अनिच्छुक देखिएका छन् । त्यस्तै डा.शेखर कोइरालाले पनि सरकारमा सहभागी हुनेबारे खासै चासो देखाएका छैनन् । त्यसको विकल्पमा गगनकै नेतृत्वमा सरकारमा कांग्रेस सहभागी हुने आकंलन गरिएको हो ।

गत १२ फागुनमा कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बन्दा राष्ट्रपति कांग्रेसलाई, उपराष्ट्रपति जसपालाई, प्रधानमन्त्री कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो गर्ने सहमति भएको थियो ।

पहिले दुई वर्ष माओवादी नेतृत्वमै सरकार कायम रहने, त्यसपछि कांग्रेसले र नेकपा एसले डेढ डेढ वर्ष सरकारको नेतृत्व गर्ने सहमति गठबन्धनबीच भएको बताइन्छ ।