काठमाडौं । लोकन्थलीस्थित आफन्तका घरमा बस्दै आएका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सरकारी बास मिलेको छ । बालुवाटारस्थित सरकारी भवनमा उनी सर्दैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा रहेको सभामुख निवासमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बसेकोमा चासो देखाउँदै सभामुख नै बस्नुपर्नेमा जोड दिएपछि घिमिरेका लागि सरकारी बासस्थान मिलेको हो ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा रहेको सभामुख निवासमा सभामुख नै बस्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रियसभा अध्यक्षले अनधिकृत तवरले त्यो निवास प्रयोग गरेकोमा प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुले पनि चासो राखेका थिए । एक मन्त्रीले भने विगतमा सभामुखले प्रयोग गर्दै आएकाले त्यहाँ सभामुखलाई राख्ने निर्णय भएको बताए।
बलात्कार प्रकरणमा तत्कालीन सभामुख कृष्णबहादुर महरा २०७६ साल कात्तिकमा जेल परेपछि त्यो निवासमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बसेका थिए। उनले निवास नछोडेपछि २०७६ माघमा सभामुख बनेका अग्नि सापकोटा लैनचौरमा बसेका थिए। सापकोटाले आफू बालुवाटार बस्न नपाएको भनेर गुनासो भने गरेका थिएनन्।
तर यसपटक सभामुख बनेका देवराज घिमिरे भने लैनचौर जान मानेका थिएनन् । उनी एमालेको तर्फबाट झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। सभामुख घिमिरेले लैनचौरमा बस्न अस्वीकार गरेकै कारण बालुवाटारस्थित सभामुख निवासलाई सभामुख निवासकै रूपमा अगाडि बढाउन मन्त्रिरपरिषदले चासो देखाएको हो।
आवाश्यक प्रक्रिया पूरा गरी र रंगरोगनको काम सकिएपछि छिट्टै नै सभामुख घिमिरे बालुवाटारस्थित सरकार निवासमा सर्ने निश्चित भएको हो ।