February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

‘राष्ट्रवादको विषय सतही बहसले पुग्दैन, राष्ट्रिय अभियान बनाइनुपर्छ’

5K

काठमाडौं । राष्ट्रवाद जस्तो संवेदनशील विषयलाई सतही रुपमा बुझ्न नहुने एक कार्यक्रममा वक्ताहरुले धारणा राखेका छन् । नेपाली कांग्रेसका नेता लाओस राईद्वारा लिखित प्रकाशन्मुख पुस्तक ‘राष्ट्रवाद कि राष्ट्रप्रेम ?’का बारेमा बोल्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले उक्त धारणा राखेका हुन ।

विहीबार ललितपुरको पाटन क्याम्पसमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थशास्त्री डा.रघुबीर विष्टले पुस्तक समय सान्दर्भिक भए पनि सतही अध्ययनले मात्र नहुने साथै सन्दर्भ सामग्रीहरु विश्वसनीय हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रवादी चिन्तन युवामा आउनु सकरात्मक भएकाले भावी दिनमा अभियानकै रुपमा अघि बढाइने बताए ।

डा.विष्णु दाहालले भल्गर क्यापिटलिज्मका बेला युवाहरुमा राष्ट्रवादी कुरा उठ्नु राम्रो भएको बताए । पुस्तक समय सान्दर्भिक हुने बताउँदै उनले पुस्तकमा इतिहास भन्दा पनि समय सान्दर्भिक विषयबस्तु वा घट्नाक्रम उठाउनुपर्ने सुझाव दिए । डा.गोकर्ण ज्ञवालीले राष्ट्रवाद भनेको संकुचित विचार भएको उल्लेख गर्दै बामपन्थीहरुले यसको विषयमा धेरै कुरा गर्ने गरेको बताए । तर सत्तामा पुगिसकेपछि नेताहरुले राष्ट्रवाद विर्सने गरेको बताउँदै यसका बारेमा बृहत अध्ययन आवश्यक रहेको बताए ।

Advertisement

पाटन क्याम्पसका मानवशास्त्र विभागका प्रमुख राजन केसीले राष्ट्रको परिभाषामै एकरुपता नभएको उल्लेख गर्दै अहिलेको समाजमा समानता नभएकाले राष्ट्रवादको परिभाषा एकरुपता नभएको बताए । उनले भने,‘बर्तमान अवस्थामा विकास र समृद्धिलाई नै राष्ट्रवाद मानेहुन्छ ।’

अर्का बक्ता पशुपति न्यौपानेले राष्ट्रवादको बारेमा पुस्तक आउनु सान्दर्भिक भएको बताउँदै पुरानो अवधारणालाई मात्र अघि बढाउन नहुने बताए । उप प्राध्यापक हुमा पाण्डेले राष्ट्र बलियो भए मात्र राष्ट्रवादको बहस गर्न सकिने बताइन । समाजशास्त्रका लेक्चर राजु राईले पुस्तकलाई ओझनदार बनाउनुपर्ने बताउँदै तथ्यपरक बनाइनुपर्नेमा जोड दिए ।

डा.दिपेन्द्र सिजापतीले सहजीकरण गरेको कार्यक्रममा केही समयपछि प्रकाशन हुन लागेको पुस्तकले युवाहरुलाई नयाँ सन्देश प्रवाह गर्ने बताए । पुस्तकका लेखक राईले पुस्तकको काम अन्तिम चरणमा पुगेको जानकारी दिंदै राष्ट्रवादका विषयमा थप सामग्रीहरु प्रकाशन गर्दै लैजाने बताए ।