काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नवनियुक्त महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक÷दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने स्पष्ट पारेका छन् । उनले अहिले त्यसको लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको सुनाए ।
उनले मुलुकको राष्ट्रिय राजनीति अहिले जटिल मोडमा रहेको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले माओवादी केन्द्रका नवनियुक्त महासचिव गुरुङलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिन आयोजना गरेको ‘विशेष साक्षात्कार’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेको संकटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिए ।
गुरुङले भने–‘निर्वाचन मंसिर ४ गते हुँदैछ । निर्वाचन समयमै अनि स्वतन्त्र र निश्पक्ष ढंगले गर्नुपर्ने आवश्यक छ । संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन् । समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता छ । मुलुकको अगाडि जुनप्रकारको संटकहरु छन्, अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथि जुनखालको समस्या र संकटहरु छन्, आईपरेका छन्, तिनलाई सामना गर्नको लागि आन्तरिक रुपमा स्थिरता र स्थायित्वको जरुरी छ । राज्यका सबै अंगहरुलाई नियमित रुपमा निरन्तरतामा सञ्चालन गर्न आवश्यक छ ।’
महासचिव गुरुङले प्रचण्डको नेतृत्वमा एमालेसँग पनि सहकार्य गरिएको भन्दै नेकपाकालिन अवस्थाको स्मरण गराए । उनले भने,‘पछिल्लो समय वाम मोर्चा डेभ्लप गर्न सकिन्छ कि भनेर प्रयास भैरहेको छ, एमाले पनि विगतका गल्ती कमजोरी पूनर्विचार गर्न तयार भयो भने वाम घटकहरु सहकार्य गरेर जान सकिन्छ । तर, वाम घटकमा संकीर्णता छ । त्यही भएर एकीकरण हुन सकिरहेको छैन् । गैरवाम घटकहरुलाई पनि सहमतिमा ल्याउन सक्यौं भने भनेमात्रै मुलुकको अस्मिता रक्षा गर्न सकिन्छ । यसरी अघि बढियो भने समाजवादी क्रान्तिको आधार तय गर्न सकिन्छ । नयाँ नेपालको रुपमा रुपान्तरण गर्न सकिन्छ । मुलुकसामू रहेका चूनौति सामना गर्न सबै दलबीच सहमति र सहकार्य गरेर जानुपर्छ ।’
उनले निर्वाचनको सन्दर्भमा सिट बाँडफाँडको विषयमा गठबन्धनभित्र छलफलत थप परामर्श भैरहेको सुनाए । उनले भने,‘अहिले सिट बाँडफाँडबारे गठबन्धनमा गृहकार्य चलिरहेको छ । शीर्ष नेताहरुबीच पनि छलफल चलिरहेको छ । कार्यदलले पनि पर्याप्त होमवर्क गरेर काम गरेको छ । शीर्ष नेताहरुसँग अन्तरकुन्तर गृहकार्य चलिरहेको छ भनेर कार्यदलका संयोजक कृष्ण सिटौलाजीले भन्नुभएको छ । अब एकाध दिनमा गृहकार्य सकिन्छ । सिट बाँडफाँड टुँगोमा पुग्छ ।’
उनले निर्वाचनको लागि स्वच्छ, स्वतन्त्र र निश्पक्ष वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । चुनावमा निषेध गर्ने प्रवृत्ति नहोस भनेर स्वस्थ, र मैत्रीपूर्ण प्रतिष्पर्धालाई प्रोत्साहित गरिने उनको विश्वास छ । उनले भने,‘अब निर्वाचनको कार्यभार पूरा गर्नुछ । विचारको हिसाबले माओवादीले नेतृत्वदायी रुपमा अगुवाई गरिरहेको छ । मुलुकको स्वाधिनता र लोकतन्त्रको रक्षा गर्नको लागि दलहरुबीच सहमति, सहकार्य र एकताको आवश्यकत्ता छ ।’
फरक प्रसँगमा उनले पार्टीका पदाधिकारी समावेशी नभएको स्विकारे । उनले भने,‘विकासको यात्रामा, कम्युष्निट पार्टी निर्माणको यात्रामा, विकासको चरणमा, समानुपातिक तथा समावेवीको मुद्दामा अधिकतम रुपमा सम्बोधन गर्न प्रयास गरिरहेका छौं । अहिले पदाधिकारीमा नमिलेको भएपनि तल्लो कमिटीबाट प्रक्रिया चलाईरहेका छौं । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता् गरेका छौं । पदाधिकारीको सवालको सन्दर्भमा, त्यो चाहन्थ्यौं । तर, अहिलेको चरणमा त्यो गर्न सकेनौं ।’