April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतीय नेतामाझ कसरी प्रिय भए प्रदीप गिरी ?

3.3K

काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम सांसद दिवंगत प्रदीप गिरीप्रति भारतीय नेताहरुले शुभेच्छा प्रकट गरेका छन् । गिरीको विचार र सादगी जीवनप्रति प्रशंसा गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् । अन्य विभिन्न देशका शीर्ष नेताहरुले पनि श्रद्धा सुमन व्यक्त गरिरहेका छन् ।

भारतीय कांग्रेसका राष्ट्रिय महासचिव मोहन प्रकाशलेसमेत गिरीको निधनमा दुःख ब्यक्त गर्दै गिरी एक सच्चा समाजवादी नेता, गान्धीवादी र हृदयदेखि लोहियात व्यक्ति रहेको उल्लेख गरेका छन् । गिरीले आफ्नो सम्पूर्ण जीवन सामाजिक कार्यमा समर्पित गरेको बताउँदै महासचिव मोहन प्रकाशले शोक व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मेरा प्रिय मित्र सांसद श्री प्रदीप गिरीजी को निधनमा गहिरो दुःख व्यक्त गर्दछु। उहाँ एक सच्चा समाजवादी नेता, गान्धीवादी र हृदयदेखि लोहियावादी हुनुहुन्थ्यो। उहाँले आफ्नो सम्पूर्ण जीवन सामाजिक कार्यमा समर्पित गर्नुभयो,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

Advertisement

भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम येचुरीले गिरी आफ्ना प्रिय एवं निकट मित्र रहेको उल्लेख गरेका छन् । ‘प्रिय एवं घनिष्ठ मित्र प्रदीप गिरीलाई गुमाउनु पर्दा गम्भीर रुपमा दुःखी छु। उनी लोकतन्त्रका योद्धा थिए। नेपालमा राजतन्त्र फ्याँक्ने संघर्षको उनले नेतृत्व गरे । भारतका लामो समयदेखिका घनिष्ट मित्र थिए। सलाम छ प्रदीप,’ उनले भनेका छन् ।

यस्तै भारतको बहुजन समाजवादी पार्टीका नेता सुधिन्द्र भदोरियालेसमेत नेपालले महान् लोकतन्त्र सेनानी गुमाएको भन्दै गिरीको निधनमा शोक व्यक्त गरेका छन् । ‘नेपालका महान् प्रजातन्त्र सेनानी प्रदीप गिरीको निधनबारे एकाबिहानै खबर पाएँ । यति दुःखको अनुभूति भइरहेको छ कि त्यसलाई ब्यक्त गर्न शब्दको अभाव भइरहेको छ। आज भारतले एक मित्र, सही सल्लाह र न्यायका विरुद्ध आवाज बुलन्द गर्ने मान्छे गुमाएको छ। प्रदीपजीप्रति विनम्र श्रद्धान्जली छ’, उनले भनेका छन् ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले गिरीको निधनप्रति दुःख व्यक्त गिरी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक भएको उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेसके वरिष्ठ नेता एवं प्रतिनिधि सभाके माननीय सदस्य प्रदीप गिरीजीका निधन दुःखद । वे नेपाली राजनीति के दार्शनिक और समाजवादी विचारक थे । उन्होंने राजनीतिक सीमाओं के परे सभी विचारधारा के राजनीतिक दलोंका आदर एवं सम्मान प्राप्त किया। ईश्वर उनकी आत्माको शांति दें,’उनले सामाजिक संजालमा लेखेका छन् ।

भारतमै बनारस हिन्दू विश्वविद्यालय र जवाहरलाल नेहरू विश्वविद्यालय अध्ययन गरेका गिरीको भारतमा समेत असल सम्बन्ध रहेको थियो । २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र संघको उपाध्यक्ष हुँदै राजनीति अघि बढाएका उनले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गरिरहेका थिए ।

कांग्रेसमा बौद्धिक धार तथा समाजवादी चिन्तनलाई प्रतिनिधित्व गर्ने गिरीले अध्ययन र निर्वासित राजनीतिका प्रारम्भिक वर्षमा भारतको दरभंगा, पटना, बनारस र दिल्लीमा झण्डै दुई दशक बिताएका थिए। त्यसबेलादेखि नै गिरी भारतका नेताहरुसँग परिचित र प्रिय बनेका थिए । भारतमा खासगरी डा.राम मनोहर लोहिया धारका समाजवादी नेताहरूसँग उनको निकट सम्बन्ध थियो ।

२०४६ र २०६२–०६३ दुवै आन्दोलनमा उनी नेपालमा भन्दा भारतीय समर्थन हासिल गर्न त्यहाँको उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग सम्पर्कमा रहेर काम गरेका थिए । उनी गान्धी दर्शनका बारेमा पनि प्रष्ट जानकार थिए । समाजवादी चिन्तन, लोकतान्त्रिक दर्शन, गान्धीवाद, मार्क्सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराणलगायतका बारेमा पनि प्रष्ट प्रवचन दिनसक्ने नेताका रुपमा उनले आफ्नो परिचय स्थापित गरेकाले भारतका नेताहरु उनीप्रति सामिप्यता राख्न चाहन्थे ।