April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

सरकारविरुद्ध हेटौंडामा १० हजार मान्छे उतार्ने कांग्रेसको दाबी

2.1K

हेटौंडा – नेपाली कांग्रेसले मकवानपुरको हेटौंडामा कम्युनिष्ट सरकारले प्रस्तुत गरेको दमनकारी दुर्व्‍यवहार, स्वास्थ्य सामग्री खरिदलगायत विभिन्न भ्रष्टाचार काण्डहरुको विरोधमा यही मंसिर २९ गते १० हजार मान्छे प्रदर्शनमा उतार्ने दाबी गरेको छ।

कांग्रेस हेटौंडा उपमहानगरपालिका, तरुण विभाग, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको बुधबार बसेको छुट्टाछुट्टै बैठकले हेटौंडा उपमहानगरको विभिन्न १९ वडा, थाहानगर र ८ गाउँपालिकाबाट १० हजार मान्छे हेटौंडामा उतारेर कम्युनिष्ट सरकारको तानाशाही, ज्यादती र भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

कांग्रेस नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा बसेको नगर कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

Advertisement

बैठकमा जिल्ला कार्यसमितिका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापतिहरू, हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडा सभापतिहरू, वडाअध्यक्षहरु, स्थानीय निकाय निर्बाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको उपस्थिति रहेको थियो।

त्यसैगरी, कांग्रेसको तरुण विभाग, भ्रातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पनि बुधबारै जिल्ला पार्टी कार्यालयमा बैठक राखी विरोध प्रदर्शनमा जिल्लाको १० वटै स्थानीय निकायबाट तरुण युवा र विद्यार्थीहरु हेटौंडामा हुने बृहत् विरोध प्रदर्शनमा उपस्थित गराउने निर्णय गरेको छ।