काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकमा भ्रष्टाचार बढेको, कोरोना भाइरस संक्रमण नियन्त्रणमा असफल भएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको प्रहरी दमन र सरकारको गतिविधिमा जनताले असन्तुष्ट पोख्ने काम सडकमा भइरहेको कांग्रेसले बताएको छ।
सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारी गतिविधि दमनको शैलीमा अघि बढेको भन्दै असन्तुष्टहरुको विरोधलाई केहीले उपयोग गर्न खोजेका बताए।
‘प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक विषयमा जुन प्रश्न उठेको छ, त्यसमा छलफल गर्न यहाँहरुलाई बोलाएको भन्नुभयो। सुझाव माग गर्नुभयो,’ महतले भने, ‘हामीले कांग्रेसको तर्फबाट आफ्नो कुरा राख्यौँ। कोभिडको महामारीको विषय छ, सरकार यसमा असफल भएको छ। उपचार नागरिकको स्वास्थ्य आधारभूत अधिकार हो त्यो सरकारले गर्न सकेको छैन। स्वास्थ्यकर्मीलाई सुविधा दिन सकेको छैन। सचेतनाको कार्यक्रम गर्न सकेको छैन।
यी विषयलाई आफूहरुले गम्भीर रुपमा उठाएको र सरकारी विभेदकारी प्रवृत्तिले तरंगित भएको पनि महतले आरोप लगाए।
‘स्वास्थ्य सामग्री खरिदमा तलदेखि माथिसम्म भ्रष्टाचार भएको छ। विभेदकारी र दमनकारी सरकारको प्रवृत्ति छ,’ उनले भने, ‘आफूभन्दा फरक विचार राख्नेहरूलाई दमन गर्ने र राज्यको साधन स्रोतको वितरणमा पनि विभेद गरेर लोकतान्त्रिक संस्था, संविधान बनायौँ, त्यसको मर्मलाई कमजोर गर्ने प्रयास भएको छ,’ उनले आक्रोश पोखे।
महतले आफूसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारले विभिन्न अध्यादेशमार्फत देशलाई चलाउन खोजेको, संसद बन्द गरेको कुरा उठाएको पनि बताए। उनले सडकमा राजावादीहरुको प्रदर्शनलाई सरकारप्रतिको असन्तुष्टि भएको बताए।