काठमाडाैं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरूमाथि कारबाही गर्ने निर्णयलाई पार्टीको विधान र सिद्धान्तविपरीत भएको ठहर गरेको छ।
शुक्रबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले यस्तो ठहर गरेको हो। नेपाल पक्षको बैठक चलिरहेको समयमा नेता भीम रावलले पत्रकारहरूसँग कुरा गर्दै पार्टीको विधान र नियमावली विपरीत ६ महिनाका लागि ‘कथित निलम्बन’ गरेको टिप्पणी गरे।
ओलीको कदम निरंकुशता लाद्ने र तानशाही शासन चलाउने प्रयास भएको भन्दै बैठकमा कुरा उठेको उनले बताए। ‘कथित कारबाहीले पार्टीको सिद्धान्त र विधान मिचेको छ’ रावलले भने ‘हामीले एमालेको रक्षाका लागि जुन पाइला चालेका छौं यो अझै गतिशिलताका साथ अघि बढाउने छौं।’
विधानको धारा १३ को १ ले एमाले ओलीको पार्टी होइन भन्ने प्रष्ट हुने भन्दै उनले समानान्तर पार्टी गठन गर्ने कार्य जारी रहने बताए। उनले पार्टी कार्यालय कसले कहाँ स्थापना गर्यो वा बनायो भन्ने विषयमा जानकारी नभएको टिप्पणी गरे।




