April 10, 2025, Thursday
२०८१ चैत्र २८
10:24:00 am

निष्कर्ष नआए पनि छलफल सकारात्मकः प्रदीप ज्ञवाली

1.9K

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले एमालेका दुई पक्षबीच भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्के पनि साझा अवधारणाका लागि साकारात्मक भएको उनले बताएका हुन्।

‘नेकपा एमालेलाई सुदृढीकरण गरेर लैजानुपर्छ। यहाँभित्र जे अन्तरविरोधहरु छन् त्यसलाई समाधान गर्दै लैजानुपर्छ। बलियो नेकपा एमालेले मात्र अरु वामपन्थीहरुलाई क्रमश: पार्टी एकतामा जोड्दै सिङ्‍गो देशलाई एकताबद्ध गर्न सक्छ। सिङ्‍गो देशलाई नेतृत्व दिन सक्छ भन्ने कुरामा साझा निष्कर्ष निकालेका छौं,’ एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालयमा भएको छलफलपछि प्रवक्ता ज्ञवालीले भने, ‘तर यति हुँदाहुँदै पनि केही प्रश्नहरुमा हामी ठ्याक्कै निष्कर्षमा पुगिसकेका छैनौं।’

उनले प्रधानमन्त्री ओलीको अध्यक्षतामा २८ गते बसेको बैठकका विषयमा नेपाल पक्षले प्रश्न उठाएको पनि जानकारी दिए। ‘छलफलमा उहाँहरुले २८ गतेको बैठकमा हामी उपस्थित भएनौं त्यसकारण त्यो बैठकका निर्णयहरु कसरी स्वामित्व ग्रहण गर्ने त्यो बैठकका निर्णयहरुलाई स्थगन गर्न सकिन्छ कि भन्ने आग्रह गर्नुभएको छ,’ ज्ञवालीले भने, ‘हामीले अब अगाडि बढौं केही निर्णहरुमा पुनरावलोकन गर्नुपर्ने छ समीक्षा गर्नुपर्ने छ केही कुरामा थप सुधार गर्नुपर्ने छ भने त्यसमा चाँहि छलफल गर्दै जान सकिन्छ। त्यसमा छलफल गर्दै जाउँ भनेर आग्रह गरेका छौं।’

Advertisement

छलफलमा नेपाल पक्षले ४ र ५ गते गर्ने भनिएको भेलाले पार्टी एकतालाई बल नपुग्ने विषय पनि उठेको ज्ञवालीले जानकारी दिए।