November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आज पनि बस्दै कांग्रेस केन्द्रीय समिति बैठक

2.9K

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि (बिहीबार) बस्ने भएको छ।  बुधबार बैठकमा पेश भएका प्रस्ताव माथि छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि चार प्रस्ताव पेश गरेका छन्।

संविधान अनुसार प्राप्त ६ महिना थप्न पाउने व्यवस्था अनुसार सभापति शेरबहादुर देउवाको कार्यसमितिको अवधि भदाैसम्म थप्नेगरी प्रस्ताव ल्याइएको छ। पार्टी विधानले दिएको एक वर्ष यही फागुनमा सकिएसँगै संविधानको व्यवस्था अनुसार ६ महिना थप्ने प्रस्ताव अघि सारिएको हो।

भदौ ७ देखि १० सम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बैठकमा पेश भएको छ। गाउँ/नगर/वडा अधिवेशन असार २० मा, गाउँ/नगरपालिका अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते गर्ने गरी नयाँ कार्यतालिका ल्याइएको छ।

Advertisement

एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ र एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते गरिने भएको छ। प्रदेश अधिवेशन साउन ६ गते गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ। 

क्रियाशील सदस्यता वितरण र नवीकरण यसै महिनाको २८ गतेभित्र बुझाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने प्रस्ताव पेश भएको छ। माघ मसान्तसम्म उपलब्ध गराइएको अवधिमा क्रियाशील सदस्यतको सूचि प्राप्त नभएपछि पुनः समयावधि बढाइएको छ।