काठमाडौं – धादिङको थाक्रे गाउँपालिका २ कोइरालेमा आज बिहानै भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा संखुवासभाको चैनपुर नगरपालिका ७ हाङलुङका २५ वर्षीय किरण कार्की र बर्दियाको सानोसिल ताराताल नगरपालिका ९ का २२ वर्षीय किरण प्रताप गुरुङ रहेका छन्।
पृथ्वी लोकमार्गमा बिग्रिएर सडक छेउमा रोकिराखेको ना ६ ख ६४ ६५ नम्बरको ट्रकमा बिहान साढे ३ बजे चितवनबाट काठमाण्डौ आउदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किएको हो। घाइते भएका २७० नम्बरको ट्रक चालक ३७ वर्षीय राम अधिकारीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ ल्याइएको छ। अर्का ट्रक चालक भने सामान्य घाइते भएका छन्।
यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीमा गएराति कन्टेनर र ग्यास बुलेट आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ना ३ ख ६७५ नम्बरको कन्टेनर र बिपरित दिशाबाट जाँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट गएराति सवा १० बजे ठोकिएका हुन्।