काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ । बिना पूर्वाधार विदेशी प्रविधि भित्राएर नागरिक र यातायात व्यवसायीमाथि अनावश्यक आर्थिक भार थपिने भन्दै नम्बर प्लेट जडान नगर्न महासंघले आह्वान गरेको हो ।
सोमबार महासंघका महासचिव भरत नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार, प्रत्यक्ष सरोकारहरु पक्षहरूबीचको छलफल संवादबीच देखिएका अव्यावहारिक विषयहरूको संशोधन सुधारबिना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडा नगर्नु हुन अनुरोध छ ।’
यस्तै, इम्बोस्ड नम्बर प्लेट जडान गर्दा नेपालीको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा हुँदा राष्ट्रको सुरक्षामा खतरा उत्पन्न हुने महासंघको भनाइ छ ।
जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गराउन खोजिए आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ ।
भदौ ३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने बताएको थियो ।




