काठमाडौं । नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपालले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो ३०औं वार्षिकबोत्सवको विविध कार्यक्रमबारे जानकारी गराएको छ ।
रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले कार्यक्रममा देश तथा विदेशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहने जानकारी दिए । साथै, कार्यक्रममा नेपाली परम्परागत खानाका विविध स्वादसमेत प्रस्तुत गरिनेछ ।
उनकाअनुसार वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट सेफहरूको योगदानको कदर गर्दै विशेष सम्मान कार्यक्रमसमेत आयोजना गरिनेछ ।
“सेफ्स एसोसिएसन अफ नेपालले गुणस्तरीय पाकशिक्षा प्रदान गर्दै सेफहरूको क्षमता अभिवृद्धिमा निरन्तर योगदान दीरहेको छ । हामी अग्रजहरूलाई सम्मान गर्दै र नयाँ पुस्तालाई प्रोत्साहित गर्दै नेपाल र नेपाली खानालाई विश्वमञ्चमा चिनाउने प्रयत्नमा क्रियाशील छौं,” अध्यक्ष तामाङले बताए ।
साथै, पाककलालाई नेपालको सांस्कृतिक कूटनीतिमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने र पर्यटन तथा अर्थतन्त्रमा योगदान दिने लक्ष्य लिएको समेत अध्यक्ष तामाङले बताए ।
उनले आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वास व्यक्त गरे ।
संस्थापक अध्यक्ष पुष्प थापाले तत्कालीन समयमा पाँचवटै विकास क्षेत्रका खानालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित संस्था स्थापना गरिएको बताए । नेपाली खाना नेपालका पाँचतारे होटलहरूको मेनुमा समावेश हुनुपर्छ भन्ने उद्देश्यका साथ अघि बढिएको उहाँले स्मरण गरे ।
कार्यक्रममा पूर्व अध्यक्षहरू सेफ रत्न बहादुर थापा, गोविन्द नरसिंह केसी र जेत लामा पाख्रिनले प्रत्येक वर्षजस्तै यस वर्ष पनि वार्षिकोत्सव विशेष र सफल हुने विश्वास व्यक्त गरे ।
निवर्तमान अध्यक्ष श्याम कुमार तामाङले सम्पूर्ण सेफहरूलाई वार्षिकोत्सवमा सक्रिय सहभागिता जनाउन आग्रह गरे ।
महासचिव पदमबहादुर आले मगरले संस्थाको उद्देश्य, भावी योजना र वार्षिकोत्सवसम्बन्धी कार्यक्रमबारे जानकारी दिँदै सेफ्स एसोसिएसन अफ नेपालले आगामी दिनमा नेपाली खानालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउने दीर्घकालीन योजना अघि सारेको बताए ।
एसोसिएसनले सम्पूर्ण नेपाली सेफहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो पहिचानलाई थप सशक्त बनाउन आह्वानसमेत गरेको छ ।
‘हाम्रो पेशा, हाम्रो सान’ भन्ने मूल नाराका साथ सेफ समुदायलाई एकताबद्ध गर्दै नेपाली खानाको शुद्धता, मौलिकता र गौरवलाई विश्वसामु चिनाउने लक्ष्य बोकेको सेफ्स एसोसिएसन अफ नेपाल नेपालको पहिलो तथा सबैभन्दा पुरानो सेफ संस्था हो ।




