काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गालीगलौज गरेको सूचना राखेको भन्दै कार्यालय प्रमुखमाथि कुटपिट भएको छ । बोर्डमा लेखेको विषयलाई लिएर प्रमुख रामु श्रेष्ठलाई कुटपिट गरिएको हो ।
कार्यालयको बोर्डमा सोमबार ‘केपी चोर, देश छोड’ सूचना देखा परेको थियो । त्यही विषयलाई लिएर मंगलबार कार्यालय प्रमुख श्रेष्ठमाथि एक समूहले हातपात गरेको हो।
कार्यालय प्रमुख श्रेष्ठमाथि कुटपिट गर्ने र कार्यालय तोडफोड गर्नेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ।
‘देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलोज÷अपशब्द अपलोड गरिएको हुँदा देशको गरिमामय पदमा रहनु भएको प्रधानमन्त्रीलाई अपमानजनक सूचना अपडेट गराउनु राज्यको संविधान तथा प्रचलित कानुनको बर्खिलाप हो। यस्तो गैरकानुनी कार्यप्रति नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भत्र्सना गर्छ,’ केन्द्रले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
यस घटनालाई साइबर अपराधअन्तर्गत कानुनी दायरामा ल्याउन पत्राचार भइरहँदा मंगलबार कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको केन्द्रले विज्ञप्तिमार्फत् बताएको छ।
‘मंगलबार बिहान १० बजे ३५–४० जनाको ठूलो दस्ता आइ कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्य कक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाईसमेत कुटपिट गरेको हुदाँ सार्वजनिक सेवा प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरू सुरक्षित नरहेको प्रत्याभूति गर्दै कार्यालय तोडफोड गर्नेमाथि कानुनबमोजिम हदैसम्मको सजाय माग गर्छौं,’ वितरण केन्द्रले भनेको छ ।