March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

कुलमानलाई बर्खास्त गरिएकोप्रति जनप्रगतिशील मञ्च, बेलायतको आपत्ति

1.1K

लन्डन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरिएकोप्रति नेकपा माओवादी निकट प्रवास समिति नेपाली प्रगतिशील मञ्च, बेलायतले आपत्ति जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मञ्चले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुका साथै आपत्ति जनाएको हो ।

‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङको निलम्बन प्रति नेपाली जनप्रगतिशिल मंच बेलायत (NPPF UK) गम्भीर चिन्ता व्यक्त गर्दछ र यस निर्णयप्रति कडा आपत्ति जनाउँछ’, विज्ञप्तिमा उल्लेख छ, घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले ऐतिहासिक सुधार गर्दै मुलुकभरको लोडसेडिङ अन्त्य गरेको मात्र होइन, ऊर्जा उत्पादन, वितरण, र व्यवस्थापनमा अभूतपूर्व योगदान पुर्याएको छ । उहाँको कार्यकाल जम्मा चार महिना मात्र बाँकी रहँदा पटक–पटक स्पष्टिकरण माग्ने, कार्यसम्पादन मूल्याङ्कनमा अन्यायपूर्ण अंक प्रदान गर्ने जस्ता मानसिक दबाब सिर्जना गरिनु गम्भीर रूपमा अपमानजनक र आपत्तिजनक छ ।’

Advertisement

घिसिङलाई बर्खास्त गरिनु सरकारको गैरजिम्मेवार निर्णय भएको मञ्चको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी मुलुकका प्रमुख संस्थाहरूमा हुने कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेपको कडा विरोध गर्दछौं । नेपालजस्तो विकासशील राष्ट्रका लागि ऊर्जा क्षेत्रको स्थायित्व आर्थिक समृद्धिको आधारशिला हो । संस्थागत निर्णयहरू पारदर्शिता, निष्पक्षता, र व्यावसायिक मापदण्डहरूमा आधारित हुनुपर्छ । श्री घिसिङको बर्खास्ती जस्तो गैरजिम्मेवार निर्णयले नेपालको ऊर्जा बिकास र समग्रदेशको बिकासमा दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ र प्रशासनिक निष्पक्षताको सिद्धान्तलाई कमजोर बनाउनेछ र भ्रष्टाचारलाई मलजल गर्नेछ ।’

नेपाल सरकारको यस निर्णयको घोर भत्र्सना गर्दै मञ्चले सो निर्णय फिर्ता लिई कुलमानलाई पुनर्वहाली गरी ऊर्जा, वित्तीय तथा प्रशासनिक संस्थाहरूलाई अनावश्यक राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रहसमेत गरेका छ ।