काठमाडौं । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस पल्टिँदा २१ जना यात्रु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको हो।
३३ जना सवार उक्त मुक्तिनाथ दर्शन गरी फर्कदै गरेको बेला ब्रेक फेल भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका २१ विद्यार्थीको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।