काठमाडौं । राष्ट्रिय हित सुरक्षा विभागले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ‘राष्ट्रिय हित तथा सुरक्षा’ सम्बन्धी दस्तावेज हस्तान्तरण गरेको छ ।
एकीकृत समाजवादी अन्तर्गतको राष्ट्रिय हित सुरक्षा विभागका प्रमुख पुष्पा कुमारी कर्ण र सचिव सुधिरमान सिंह बि.के.खातीसहितको टोलीले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भेट गरी विहीबार अध्यक्ष नेपाललाई सुरक्षा सम्बन्धी अवधारणा पत्र सहितको दस्तावेज हस्तान्तरण गरेको हो ।
विभागले राष्ट्र हित तथा सुरक्षाका लागि अवलम्बन गर्नुपर्ने महत्वपूर्ण नीति तथा कार्यक्रमहरूलाई विभिन्न बुँदामा समावेश गरेर अवधारणा तथा पत्र सहितको दस्तावेज बुझाएको विभागका प्रमुख कर्णले बताए ।
देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधता बिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रबर्द्धन गर्दै नेपालीको हकहितको रक्षा र सीमानाको सुरक्षाका साथै आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी समतामूलक समाज निर्माण गर्नका लागि एकीकृत समाजवादी अन्तर्गतको यस राष्ट्रिय हित तथा सुरक्षा विभागले सीमा सुरक्षा सम्बन्धमा, आन्तरिक सुरक्षा सम्बन्धमा ,कुनीति र परराष्ट्र नीति सम्बन्धमा, छिमेकी र अन्य मित्रराष्ट्रबीचको सम्बन्ध सम्बन्धमा, राष्ट्रिय हित र विकास सम्बन्धमा र गैरआवासीय नेपाली सम्बन्धमा विभिन्न बुँदाहरू अवधारणा पत्रमा समावेश गरी बुझाएको विभागका सचिव रमान सिंह बि.के.खातीले बताए ।




