काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँका शोभाभगवतीमा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताएका हुन् ।
संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै नेता सिंहले भने, ‘गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ । असंवैधानिकरूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो । कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो ।’
अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको बताउदै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको नेता सिंहले बताए।
उनले वर्तमान सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको दाबी गरे । संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसार नै गठबन्धन अघि बढ्ने विश्वास व्यक्त गरे । उनले जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल बनाउन सबै राजनीतिक दल क्रियाशील हुनुपर्ने बताए । उनले भने, ‘जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न अबको ध्यान केन्द्रित हुनुपर्छ, परिवर्तनको फल सबैले पाउनुपर्छ । अहिले जनताले परिणाम खोजिरहेका छन्, जनताको जीवनस्तर उठाउनेतर्फ ध्यान दिनुपर्छ ।’




