November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विदेश भ्रमणका नतिजा फलदायी छ वा छैन भन्ने अध्ययन हुनुपर्छ : सुहाङ नेम्बाङ

575

काठमाडौं । नेकपा एमाले सांसद सुहाङ नेम्बाङले विदेश भ्रमणबाट भएका उपलब्धीबारे ध्यान दिनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै सांसद नेम्बाङले भने, ‘हामीले विदेश भ्रमण गरेको नतिजा फलदायी भएको छ की छैन भन्ने कुराको पनि अध्ययन गर्नुपर्छ । जनताको करबाट विदेश भ्रमण गर्ने तर हेरेर आइसकेपछि केही पनि नगर्ने भन्ने आरोप छ । त्यो भाष्यलाई चिरेर विदेश भ्रमणबाट के सिकेर के लागू ग¥यौं भन्ने कुराको अध्ययन गर्नुपर्छ ।’

अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सीमित हुन थालेको टिप्पणी गर्दै उनले यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गरे ।

Advertisement

उनले भने, ‘यत्तिकै त नैराश्यता र नकारात्मकताको हाम्रो अहिले संसदीय अभ्यास भइरहेको छ । महत्त्वपूर्ण कुराहरू जनताले क्लियरल्ली सुन्न पाउँदा राम्रो हुन्छ । कानुनलाई जीवन्त बनाउने काम भनेको हामी सबैको हो ।’

बेलायती संसदका अभ्यास र अनुभव सिकिरहँदा नेपाली भूगोल र जनतासँग कतिपय कुराहरू मेल नखाने भएकाले आफ्नो भूगोल र जनताको अपेक्षाअनुसार कामहरु गर्दै जानुपर्ने उनको भनाइ थियो । उनले भने, ‘बेलायतमा भएको संसदीय अभ्यास कुन तरिकाले आफ्नो अभ्यासलाई निरन्तरता दिन्छन्, काम गर्छन् भन्ने हो । हामीले जनता र देशको भूगोललाई मध्यनजरमा राखेर काम गर्नुपर्छ, किनभने बेलायतको व्यवस्था यहाँ सिकिरहँदा हुबहु नेपालमा लागू गर्न सक्छौँ की सक्दैनौँ, हुबहु लागू नहुन सक्छ । तर उहाँहरूको ज्ञान र अनुभव लिइरहनुपर्छ ।’