April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरियामा विनेश राई ‘मिन्जाई’को गजलसंग्रह ‘आगो टेक्छ योद्धा’ सार्वजनिक तथा परिचर्चा

7.6K

सउल। कवि तथा गजलकार विनेश राई ‘मिन्जाई’को गजलसंग्रह ‘आगो टेक्छ योद्धा’को दोस्रो संस्करण सार्वजनिक तथा परिचर्चा कार्यक्रम दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न भएको छ।

२०६८ सालमा पहिलो पटक प्रकाशित संग्रहको दोस्रो संग्रह प्रकाशनपछि नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाको आयोजनामा कोरियन चाड छुसकको अवसरमा गत सेप्टेम्बर २९ का दिन सो कार्यक्रम सम्पन्न भएको हो।

“काठमाडौमा संघर्ष गरिहिँड्दा पहिलो चोटि प्रकाशन गरेको संग्रह पल्टाएर हेर्दा प्रवासी भोगाई र अनुभुतिहरु थपथाप गरि पुनः प्रकाशन गर्ने रहर जागेकोले दोस्रो संस्करण प्रकाशन गरेको हुँ।” गजलकार मिन्जाईको प्रस्टीकरण थियो।

Advertisement

गजल संग्रहमाथी टिप्पणी गर्दै गजलकार शकुन आँशुले गजलहरु पढिरहँदा मिन्जाई गहिरो प्रेममा परेर छुटेको घायल प्रेमी देखिएको बताइन्। उनले अधिकांश गजलहरु प्रेम र बियोगको दुई किनार भएर अघि बढेको उल्लेख गर्दै थप परिमार्जन गरि आगामी दिनमा अझ शसक्त कृती प्रकाशनका लागि शुभकामना दिइन्।

संग्रहमाथी बोल्दै अर्का बक्ता दिपक स्पन्दनले केही गजलहरु बाहेक संग्रहमा भएका गजलहरु सुन्दर भएको टिप्पणी गरे। “कुनै कुनै शेरहरुले पाठकलाई मातिरहुँ लाग्ने बनाउँछन्”, उनको प्रतिक्रिया थियो। संग्रहको बैचारिक पक्षमाथी टिप्पणी गर्ने जिम्मेवारी पाएका उनले बिचारका हिसाबले गजलकारको धरातल स्पस्ट नदेखिएको टिप्पणी गरे। उनले भने, “उहाँको भुगोल, संस्कृती, भाषा आदि ईत्यादी प्रतिबिम्बित भएको भए झन आकर्षक हुन सक्थ्यो।”

गजल संग्रहका गजलहरुको संरचनागत पक्षका बारे टिप्पणी गर्ने गजलकार ह्यारी बोण्ड्ले केही गजलहरु संरचनाभन्दा बाहिर भए पनि कुनै भने कैँचिले काटेर मिलाए जस्ता भएको उल्लेख गरे। उनको सुझाब थियो, “यतिखेर बहर-छन्दमा लेख्ने र स्वतन्त्र शैलिमा लेख्ने गजलकारहरुका बिच जुहारी चलिरहे पनि श्रष्टाहरुले भने यी दुबैको ज्ञान राख्नुपर्छ। त्यसो हुँदा आफैले आफैलाई जाँच्न सकिन्छ।”

नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाका अध्यक्ष समीप खेम पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई तथा अतिथिका रुपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाका उपाध्यक्ष रामचन्द्र शर्मा, मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका अध्यक्ष आरएन अधिकारी, इतर अभियानका अभियन्ता मातृका नेम्बाङ, किरात राई यायोक्खा कोरिया साहित्य विभाग प्रमुख दुर्लभ काइँला, खोटाङ सेवा समाज कोरियाका अध्यक्ष शुष्मा रानाहँमा, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गोकुल थोकरको उपस्थिति रहेको थियो।

ईन्डिगो ईङ्कद्धारा प्रकाशित संग्रहमा ५२ वटा गजल तथा ११ वटा फर्दहरु रहेका छन्।