काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा चालेको अभियानमा साथ दिन अपिल गरेको छ । माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निश्कर्ष निकाल्दै यसप्रति सबै सचेत हुनुपर्ने बताएको हो ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरुमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेत देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भट्ठरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रुप लिनसक्छ ।’