काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं, नुवाकोट, रुपन्देही, पर्सा लगायतको ठाउँमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार काठमाडौं, तारकेश्वर नगरपालिका–११ शेषमती सडकमा बा.३ ख ६३६७ नम्बरको बसले बा.४९ प ७०१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी रुपनी गाउँपालिका–३ घर भई ललितपुर ईमाडोल बस्ने ५७ वर्षीय जोगेन्द्र प्रसाद गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बसमा सवार ९ जनामध्ये ७ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य २ जनाको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै, नुवाकोट, शिवपुरी गाउँपालिका–१ तलाखुस्थित सडकमा बा.प्र.०२–०३७ प १६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ बस्ने ४२ वर्षीय विनोद श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत अस्पताल शिवपुरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, रूपन्देही मायादेवी गाउँपालिका–४ मोतिपुरस्थित सडकमा बागमती प्रदेश ०१–०२७ च ११४४ नम्बरको भ्यानले लु.२ प ७५७८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–५ बस्ने ६० वर्षीय खलिल धुनिया मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले भ्यान चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका–२ पाखापानीस्थित सडकमा लु.६३ प ८१८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक प्युठान झिमरुक गाउँपालिका–५ बस्ने ५० वर्षीय श्रीधर पोखरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, पर्सा छिपरमाई गाउँपालिका–५ भिस्वास्थित सडकमा बीआर ५ ए ८३३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार पकाहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने ३७ वर्षीया ईन्दु देवीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि एलएस न्यूरो अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।