काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपनिर्वाचनका लागि चितवन २ रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले यी दुईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको साथै थप छलफल गरेर टुंग्याउने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ‘बारा-२ को राजनीतिक अवस्था अत्यन्तै तरल भएकोले थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइनेछ,’ गुरुङले भने ।
तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् । खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । जिल्ला कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो । न्यौपाने गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।